काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले आफ्नो सहायक कम्पनी ‘नागरिक स्टक डिलर कम्पनी लिमिटेड’ सोमबार दर्ता गरेको छ ।
कोष स्रोतका अनुसार कोषले स्टक डिलर कम्पनी सोमबार कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरेको हो । यसका लागि कोषले आवश्यक सम्पूर्ण कागजात कम्पनी रजिस्टारको कार्यालयको अनलाइनमार्फत अपलोड गरी आवेदन दिएको थियो ।
कम्पनी रजिस्टारको कार्यालयले पनि कोषको आवेदन स्वीकृत गरी भोलि मंगलबार प्रमाणपत्र दिने कार्यक्रम रहेको कोष स्रोत बताउँछ । नेपालमै पहिलोपत्र दर्ता भएको स्टक डिलर कम्पनीबारे कोषले यही साताभित्र पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी गरिरहेको पनि बताइएको छ।
सेयर बजारको स्थायीत्वको लागि तीव्र प्रतिक्षारत स्टक डिलरको रुपमा कोषले सहायक कम्पनी दर्ता गर्न खोजेको हो ।
अधिकृत पूँजी १० अर्ब र चुक्ता पूँजी ५ अर्ब रहेको नागरिक स्टक डिलर कम्पनी लिमिटेडले ५ अर्ब हाराहारीको फण्ड तयार गरी दोश्रो बजारमा आक्रामक रुपमा लगानी गर्नेछ ।
स्टक डिलर कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल दूरसञ्चार संस्थानको १० प्रतिशत ,नेपाल पुर्नबीमा कम्पनीको ९ प्रतिशत लगानी रहने कोषले जनाएको छ । बाँकी ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरिनेछ ।
मार्केट मेकरका रुपमा पहिल्यैदेखि कोषले पूँजीबजारमा भूमिका खेलिरहेको तर स्टक डिलरका रुपमा दर्ता भई आउने कुरा चाहि अन्यौलमै थियो । तर, अब दर्ता भएसँगै बजारमा अझ बढी उत्साह आउने र यसले बुल रनमा कुदेको बजारलाई नयाँ उचाई दिने अपेक्षा गरिएको छ ।
स्टक डिलरले सेयर बजारबाट ठूलो मात्रामा सेयर किन्ने र बेच्ने गर्दछ । यसले बजार अझ बढी चलायमान हुने र नेप्सेले नयाँ उचाई चुम्ने विज्ञहरु दाबी गर्छन् ।
नागरिक स्टक डिलर कम्पनी लिमिटेडले सेयर बजारबाट ठूलो परिमाणमा सेयर खरिदबिक्री गर्न संयन्त्रका निम्ति आवश्यक कार्यविधि समेत तयार गरिसकेको छ । यस्तो कार्यविधि अब पारित हुन मात्र बाँकी रहेको स्रोत बताउँछ ।
अब सेयर बजारबाट ठूलो परिमाणमा सेयर खरिद कार्यको सुरुवात कम्पनीले केही साताभित्रैदेखि गर्न थाल्ने कोषको सम्बन्धित पूँजीबजार शाखाले जनाएको छ । यदि कोषको बोर्डले सेयर बजारबाट खरिद गर्ने निर्णय चाँडै भए झन् छिट्टै बजारबाट ठूलो परिमाणमा सेयर खरिद गर्ने स्रोतको भनाइ छ ।
नागरिक स्टक डिलर कम्पनी स्वतः स्टक ब्रोकर नै हुने र आफ्नै विन्डोबाट सेयर खरिदबिक्री गर्ने कोष स्रोतले जनाएको छ । सेयर खरिद बिक्री गर्न कम्पनीलाई नेपाल धितोपत्र बोर्ड र नेप्सेले स्पेशल लगइन दिइने बताइएको छ ।
स्टक डिलरले आगामी केही साताभित्र बजारबाट सेयर खरिद गर्ने र हाल ठूलो आपूर्ति रहेको धितोपत्र सन्तुलनमा आउँदा माग सिर्जना भई धितोपत्रको मूल्यमा समेत उछाल आउने बजारसम्बद्ध विश्लेषकहरु जिकिर गर्छन् ।
8 hours ago
8 hours ago
8 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago