– अर्जुन तिमिल्सिना

काठमाण्डौ । लगानी गरेर पैसा कमाउन सबैलाई नै इच्छा हुन्छ। विकसित देशहरुमा लगानीका धेरै अवसर हुन्छन्। सेयर, डिबेन्चर बोन्ड, तेल, सुन तथा कमोडिटी मार्केर र क्रिप्टोकरेन्सी पनि वैधानिक नै रहेको छ।

नेपालमा पनि लगानीको अवसर हुँदै नभएको होइन तर केही कममात्रै हो। अहिले संसारमा क्रिप्टोकरेन्सीले राम्रै बजार पाएको छ। कति देशमा प्रतिबन्ध छ भने कतिमा वैधानिक नै छ। 

विदेशमा रहेका अधिकांश नेपालीले कानुनी रुपमै क्रिप्टोकरेन्सीकोे कारोबार गरिरहेका छन्। 

स्रोतका अनुसार नेपालमै रहेका नेपालीले भने संगठित रुपमा हङकङ तथा दुबईबाट चलाइएको नेटवर्किङमार्फत  बिटक्वाइनमा लगानी गरिरहेको खुलासा भएको छ। उक्त नेटवर्किङ संगठनले नेपालामा अहिले १ हजार ५०० अमेरिकी डलर लगानी गर्नुपर्ने र २ वर्षपछि १५ हजार हुने प्रलोभन देखाएर लगानी गर्न फकाइरहेको नाम उल्लेख नगर्ने सर्तमा एक लगानीकर्ताले बताए। त्यो संगठनले त्रैमासिक रुपमा प्रतिफल पनि पाउने भन्दै पैसा उठाइरहेको ती लगानीकर्ताको दाबी छ। 

ती लगानीकर्ताका अनुसार काठमाण्डौमा मात्रै नभएर उक्त संगठनको जालो गाउँगाउँसम्म पुगेको र सर्वसाधरणलाई किन्न उस्काइरहेको छ। ‘मार्केटमै नभएको क्रिप्टोकरेन्सी किनबेच गराउनु त झन अर्को आश्चर्यजनक कुरा भयो’, ती लगानीकर्ताले भने। 

अमेरिकाको टेक्सासमा बसोबास गर्ने राजन कुँवरले  क्रिप्टोकरेन्सीमा लगानी अमेरिकामा वैधानिक भए पनि नेपालबाट अर्काको नाममा लगानी गर्नु सरसर पैसा डुबाउने काम भएको बताए। ‘यो घटेर गए पनि डुब्नु हो र बढेर गए पनि डुब्नु नै हो’, उनले भने, ‘आज पिरामिड तरिकाले बढेको छ तर अरुको नाममा पैसा हाल्नु भनेको बढेर गए पनि उसले पैसा नदिने हुँदा यो पूर्ण रुपमा जोखिमपूर्ण छ।’ 

यदि विदेशमा ब्लड रिलेसनको आफन्त छ र उसको नाममा कारोबार गर्ने हो भने पैसा डुब्ने जोखिम कम हुने कुँवरको भनाइ छ। ‘तर अरुको नाममा लगानी गर्नलाई पैसा उठाउनु ठगी नै हो’, उनले भने। 

कुँवरले नेपालमा यो गैरकानुनी भएको र अरुको नाममा यसरी खरिद गर्दा खरिदकर्ताको नाममा कुनै वैधानिक हैसियत नहुने हुँदा यो सरासर ठगी हुन सक्ने बताए। 

सेयर बजारकै सक्रिय लगानीकर्ता भेषराज पौडेलले  नेपालीहरुले क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको आफूले सुनेको बताए। ‘तर कहाँबाट कसरी हुन्छ भन्ने ठ्याक्कै छैन’, उनले भने, ‘सेयर बजारमा क्रिप्टोकरेन्सीमा भइरहेको लगानीका विषयमा निकै चर्चा छ।’

अर्का लगानीकर्ता सरोज थपलियाले मलेसिया र दुबईबाट संगठित रुपमा क्रिप्टोकरेन्सीको कारोबार हुने गरेको र त्यसका लागि नेपालमा सटही दरमा पैसा लिने र सम्बन्धित व्यक्तिको मोबाइलमा क्रिप्टोकरेन्सीको कारोबारबारे जानकारी आउने बताए। 

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले आफूहरुलाई नेपालबाट क्रिप्टोकरेन्सको गैरकानुनी कारोबार भइरहेको सूचना आएको बताए। ‘त्यही कारणले राष्ट्र बैंकले सूचना जारी गर्दै क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी र जाखिमयुक्त रहेको आमनागरिकलाई भनिसकेको छ’, उनले भने। 

पोखरेलले केही समयपछि नेपालकै आफ्नै वैधानिक डिजिटल मुद्रा खरिद गर्ने अवसर पनि हुन सक्ने बताए। ‘अहिले अँध्यारो कोठामा बसेर विदेशी डिजिटल मुद्रामा लगानी गर्नु निकै जोखिम हुन सक्छ’, उनले भने, ‘राष्ट्र बैंकले सचेत गराउँदा गराउँदै पनि कोही गैरकानुनी कारोबारमा संलग्न हुन्छ भने त्यो उसको मूर्खता हो।’