ढाका । नेपालले कृषि एवं अन्य उपभोग्य वस्तुको सहज पहुँचका लागि बंगलादेशसँग आग्रह गरेको छ। 

नेपाल उद्योग परिसंघले नेपाली वस्तुलाई बंगलादेशी बजारमा सहज पहुँच स्थापित गर्न, गैरकर अवरोध हटाउन र राजस्वमा न्यून दर लगाउन बंगलादेशी उच्च अधिकारीहरुसमक्ष आग्रह गरेको छ। ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशको जनघनत्वअनुसार ठूलो मात्रामा उपभोग्य वस्तुको आवश्यक पर्ने भएकाले नेपालबाट त्यस्ता वस्तुको आयातमा सहजता एवं सुविधा दिन आग्रह गरे। उनले नेपालका कृषि उत्पादनहरुका लागि बंगलादेश राम्रो बजार भएकाले त्यस्ता वस्तुको विना अवरोध निर्यातको सुविधा दिन पनि बंगलादेशी अधिकारीहरुलाई आग्रह गरे। 

कार्यक्रममा नेपालमा बंगलादेशी पर्यटक भित्र्याउने सम्भाव्य क्षेत्रहरुबारे पनि छलफल भएको थियो। अध्यक्ष अग्रवालले नेपालले काठमाण्डौबाहिरका दुई सहर पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेकाले ढाकाबाट सीधा उडान स्थापित गरी बंगलादेशी पर्यटकलाई सुन्दर सहरहरुको पहुँच विस्तार गर्न सकिनेमा जोड दिए। 

नेपाल र बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तारका लागि दुईदेशबीचको सडक परिवहन सेवामा पनि जोड दिइएको छ। काठमाण्डौबाट ढाकासम्म बस सेवा सञ्चालन गरी नागरिकस्तरमा सम्बन्ध विस्तारमा सहजीकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको छ।

कार्यक्रमममा बंगलादेशका वाणिज्य सचिव तपन कान्ति घोषले दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता (प्रिफेरेन्सिएल ट्रेड एग्रिमेन्ट) टुंग्याउन आग्रह गरे। ‘सम्झौताको मस्यौदामा प्रारम्भिक छलफल भएको छ’, उनले भने, ‘नेपालको तर्फबाट यसलाई अघि बढाउन तपाईंहरुले पनि पहल गर्नुहोस्।’ 

परिसंघ डीसीसीआईबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल उद्योग परिसंघ र ढाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज (डीसीसीआई)बीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा परिसंघका अध्यक्ष अग्रवाल र डीसीसीआईका अध्यक्ष रिजवान रहमानबीच हस्ताक्षर भएको हो। 

समझदारीपत्रमा दुवै संगठनले एकअर्को देशमा लगानीको वातावरणबारे जानकारी दिने, दुई देशका आर्थिक क्रियाकलापका लागि सहजीकरण गर्ने र दुवै देशका लगानी एवं व्यापारसँग सम्बन्धित सूचना आदानप्रदान गर्ने उल्लेख छ। 

समझदारीपत्रमा हस्ताक्षर गर्दै परिसंघका अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत, पर्यटन, कृषि उद्योग लगायतका क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको र विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य हुन सक्ने बताए। 

समझदारीपत्रमा हस्ताक्षरसँगै भएको दुई देशका व्यवसायीहरुको छलफलमा बंगलादेशी उद्योगीले नेपालको जलविद्युत विकासमा चासो देखाएका छन्। 

कार्यक्रममा डीसीसीआईका अध्यक्ष रहमानले नेपाल र बंगलादेश सार्क, बिम्स्टेकलगायतका साझा मञ्चमा सक्रिय रहेको र अब निजी क्षेत्रले पनि आर्थिक सम्बन्ध विस्तारमा जोड दिने बताए। उनले बंगलादेशले तीव्र आर्थिक विकासमा गरेको मेहनत नेपालका लागि पनि उदाहरणीय हुने बताए। 

बंगलादेशले पछिल्लो ५ वर्षमा औषत ७ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि गरिरहेको छ।