काठमाण्डौ । नेपाली युवा राहुल श्रेष्ठ मध्यपूर्व क्षेत्रमा ३० वर्षमुनिका शीर्ष ३० शेफमा छनोट भएका छन्। 

क्याटरर मिडल इस्टले प्रत्येक वर्ष छनोट गर्ने त्यस क्षेत्रका सबैभन्दा प्रतिभाशाली र कडा परिश्रम गर्ने एफ एन्ड बी पेसेवरहरुमध्ये उत्कृष्ठ ३० जनाको नाम छनोट गर्दछ। 

क्याटरर मिडल इस्टले यस वर्ष ३० वर्ष वा सोभन्दा कम उमेरका ३० माथि आउने शेफहरुको सूची सार्वजनिक गर्दा नेपाली युवा राहुल श्रेष्ठ पनि परेका हुन्। २८ वर्षीय राहुल चितवन कोइ प्रालिका सञ्चालक व्यवसायी राजेशबाबु श्रेष्ठका छोरा हुन्। उनी हाल ब्यागेटेल दुबईमा सु शेफका रुपमा कार्यरत छन्। 

ब्यागेटेल दुबई सेफ टोलीका अनुसार राहुल श्रेष्ठ प्रयोग गर्न डराउँदैनन्। उनले ब्यागेटेलको परम्परा, स्वाद र इतिहासलाई पनि सम्मान गर्दै नयाँ प्रचलनहरु सहित सन्तुलित मेनु बनाउन मद्दत गर्दछन्। 

‘राहुलको नयाँ र रोमाञ्चक स्वादहरु सिर्जना गर्नेे दृष्टिकोणमा साक्षी हुन पाउँदा खुसी लागेको छ र उनले यो नियमित रूपमा गर्नेछन्’, समूहका कार्यकारी शेफ टिमोथी न्युटन भन्छन्, ‘हाम्रो सु शेफका रूपमा उनले हाम्रो टोलीका धेरै कनिष्ठ सदस्यहरुलाई प्रेरित गर्दछन् र उनको कार्य नैतिकतामा कुनै पनि कमी छैन।’

क्याटरर मिडल इष्टका अनुसार यो सूचीले कनिष्ठ शेफहरुदेखि रेस्टुरेन्टहरु, महाप्रबन्धकहरु र यस क्षेत्रका केही सबैभन्दा सम्मानित प्रतिष्ठानहरुमा कार्यकारी शेफहरुसम्मका विभिन्न व्यक्तिहरुलाई समेट्ने गर्दछ।