काठमाण्डौ। डीएभी सुशील केडिया विश्व भारती विद्यालयमा भौतिक दूरी कायम गर्दै ‘नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह’ आइतबार सम्पन्न भएको छ।

संस्कृति भारत मुख्य आयोजक रहेको उक्त कार्यक्रममा डीएभी सुशील केडिया विश्व भारती विद्यालय र स्वामी विवेकानन्द संस्कृति केन्द्र, भारतीय राजदूतावास काठमाण्डौ जोडिन पुगेका थिए। कार्यक्रमको मुख्य उद्देश्य नेपाल–भारतबीच परापूर्वकालदेखि रहेको पारस्परिक सम्बन्धलाई उजागर गर्नु र थप प्रगाढ गर्नु रहेको संस्कृति भारतले उल्लेख गरेको छ। 

कार्यक्रमको मुख्य आकर्षण विभिन्न सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिको सम्मान र आकर्षक नृत्य, गीत तथा गजल रहेको थियो। 

कार्यक्रममा डीपीएस धरानका पीके शंकर लिंगम र नेपाल–भारतमैत्री विद्यालय पोखराका मृत्युञ्जय सिंह बेस्ट प्रिन्सिपल अवार्डबाट सम्मानित भएका छन्। त्यसैगरी डीएभी विद्यालयका रामचन्द्र खनाल बेस्ट भाइस प्रिन्सिपल अवार्डबाट सम्मानित गरिएका थिए। सोही अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पुरएका शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो।

त्यसैगरी बहुप्रतिष्ठित भारत गौरव सम्मान अवार्डबाट विभूषित हुनेहरुमा डा रञ्जना झा, शास्त्रीय संगीत गायिका, पटना भारत, यामिनी–कथक नृत्यंगना पटना भारत, रजनी दुवे–भारतीय लोक नृत्यङ्गना, महाराष्ट्र भारत छन्।

डीएभी विद्यालयका अध्यक्ष अनिल केडिया यस वर्षको नेपाल– भारतमैत्री समाज अवार्डबाट सम्मानित भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि लोकतान्त्रिक समाजादी पार्टीका अध्यक्ष महन्त ठाकुर उपस्थित थिए। त्यसैगरी भारतीय राजदूतावास काठमाण्डौ नेपालको प्रतिनिधित्व गर्दै नविन कुमार–प्रथम सचिव प्रेस सुचना तथा संस्कृति विभाग उपस्थित थिए। यसका साथै पूर्वमन्त्री अनीलकुमार झाको समेत उपस्थिति थियो।

कार्यक्रममा करिब ३० जना भन्दा बढी भारतीय कलाकार र नेपाली समूहले नृत्य तथा गीत प्रस्तुत गरेका थिए।