काठमाण्डौ । हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ अप्रिल १३ देखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरू गरेको छ । 

हिमालय एअरलाइन्सको नाइन एन ७८५ एयरबस ए ३२०–२१४ ले आज १८० चिनियाँ पर्यटकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ भने कुनमिङदेखि काठमाडौँसम्मको आगामी चार्टर्ड उडानहरूमार्फत् थप ७०० यात्रुहरूलाई स्वागत गर्ने अपेक्षा गरेको छ ।

कोभिड–१९ महामारीसँग सम्बन्धित तीन वर्षको प्रतिबन्धपछि नेपालमा चिनियाँ पर्यटकको आगमन बढाउने उद्देश्यले हिमालय एअरलाइन्सले चीनबाट नेपालमा नेपालकै पहिलो चार्टर्ड उडान सुरु गरी चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनु महत्वपूर्ण रहेको दाबी गरेको छ ।

एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले चार्टर्ड उडानलाई सफल तुल्याउन सहयोग गरेकोमा चीन र नेपाल सरकारका पदाधिकारीहरुलाई धन्यवाद दिंदै नेपाल र चीनबीचको दौत्य सम्बन्धलाई थप मजबुत बनाउने दिशामा यो महत्वपूर्ण कदम हुने बताए । 'यी दुई महत्वपूर्ण छिमेकी देशबीच यात्रुको आवागमनलाई सहज बनाउन पाएकोमा हामी गौरवान्वित छौं र आगामी दिनमा थप चिनियाँ गन्तव्यसँग यो सम्बन्धलाई बढाउने योजना बनाएका छौं । नेपालको पर्यटन तथा हवाई उद्योगलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ हिमालय एअरलाइन्स्ले राष्ट्रका लागि सदैव एक कदम अगाडि बढ्ने जमर्को गरेको छ । हामी हाम्रा यात्रुहरूका लागि सदैव उच्च सेवा प्रदान गर्न र हाम्रा यात्रुहरूका हवाईयात्रा अविस्मरणीय बनाउन प्रतिबद्ध छौं ।'-उनले भने ।