काठमाण्डौ । कोरोना भाइरस नियन्त्रणमा आक्रामक रुपमा लागेको सरकारले प्रतिबन्धित देशका नागरिक बोकेर हङकङ र सिंगापुरबाट काठमाण्डौ आएका दुईवटा बिमानलाई ओर्लन नदिई फिर्ता पठाइदिएको छ । 

प्रतिबिन्धत मुलुक नेदरल्याण्डका नागरिक समेत लिएर आएपछि सिल्क एयरको विमान सिंगापुर फिर्ता पठाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यस्तै, अर्को विमान २४ जना यूरोपियन बोकेर काठमाण्डौ आएको बताइएको छ । 

सरकारले ६६ मुलुकका नागरिक र ती गन्तव्यबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाइसकेको छ । आइतबारदेखि अन्तराष्टिय उडानमा समेत प्रतिबन्ध लगाएको छ । 

आवागमन प्रतिबन्ध लगाइएको मुलुकका नागरिक लिएर आएको विमानमध्ये एउटा आज राति ८ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि तेल भर्न लगाएर सिंगापुर फिर्ता पठाइएको हो । अर्को बिमान चाहि आकाशबाटै फिर्ता पठाइएको हो ।

शनिवार दिउसो एयर इन्डिया र थाइ एयरवेजले जापान, मलेसिया, भारतबाट क्रमशः १२ र ४९ जना नेपाली बोकेर आएका थिए । ती नेपालीलाई भने सरकारले भक्तपुरस्थित क्वारेन्टाइनमा राखेको छ ।