काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवम् भक्तपुरस्थित ऐतिहासिक चाँगुनारायण नगरपालिकाबीच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौताहरुमा हालै हस्ताक्षर भएको छ ।  

नगरपालिकाले संचालन गर्न लागेको “बचत खाता छोरीको, सुरक्षा जीवनभरिको” कार्यक्रमअन्र्तगत नगरपालिकाभित्रका सामुुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक बर्ष रु. चार हजार जम्मा गर्दै जाने व्यवस्था मिलाइनेछ ।  

सम्झौता बमोजिम शून्य मौज्दातमा खोलिएका त्यस्ता  खातामा बैंकले बचत खाताहरुमा प्रदान गर्ने उच्चतम ब्याजदर प्रदान गर्ने, बैंकमा खोलिएको खातामा रकम जम्मा गर्ने÷झिक्ने लगायतका अन्तरबैंक सेवामा कुनै पनि शुल्क नलाग्ने लगायतका अन्य सुविधाहरु प्रदान गर्नेछ । 

साथै नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा रु. ३ लाखसम्मको निक्षेप बीमा समेत गरिनेछ । यस प्रकारका खातामा बालिका आफैंले वा उनीहरुका अभिभावकहरुले समेत रकम जम्मा गरिदिन सक्नेछन् । यस प्रकारको कार्यक्रमबाट छात्राहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्न, बिचैमा बिद्यालय छोड्नेलाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, बालविवाह निरुत्साहन गर्न, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षा गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । उक्त रकम छात्राहरुले १२ कक्षा उत्तीर्ण गरे पश्चात मात्र झिक्न पाउनेछन् ।

त्यसैगरी सोही अवसरमै चाँगुनारायण  नगरपालिका एवम् नेपाल बैंक लिमिटेडबीच “मेयर उद्यमशीलता बिकास कार्यक्रम” अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा समेत अर्को सम्झौता भएको छ । उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य ब्यवसाय प्रवद्र्धन तथा चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशिलता बिकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशील बन्न चाहने नगरबासी एवम् नेपाल राष्ट्र बैकको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको शीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी ब्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिई आयआर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले चाँगुनारायण  नगरपालिका र नेपाल बैंक लिमिटेडबीच उक्त सम्झौता भएको हो । 

उपरोक्त दुबै सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा चाँगुनारायण नगरपालिकाको तर्फबाट नगर प्रमुख सोमप्रसाद मिश्रबाट हस्ताक्षर गरिएको थियो । उक्त कार्यक्रममा चाँगुनारायाण नगरपालिकाका उपप्रमुख बिना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारी, नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, बागमती प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थी, भक्तपुर शाखाका प्रमुख बिष्णुमान भैल लगायतको उपस्थिति रहेको थियो ।

नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८९ वटा शाखाहरु, १२५ बटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आर्थिक बर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडि बढाइरहेको छ ।