काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवं चितवन जिल्ला स्थित पर्यटकीय रत्ननगर नगरपालिका बीच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्यगर्ने सम्झौताहरुमा हिंजो बुधबार हस्ताक्षर भएको छ ।

रत्ननगर नगरपालिका एवं नेपाल बैंक लिमिटेड बीच “नगरप्रमुख उद्यमशीलता विकास कार्यक्रम” अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा सम्झौता भएको हो ।

उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य व्यवसाय प्रवर्धन तथा रत्ननगर  नगरपालिकाको नगर प्रमुख उद्यमशिलता बिकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैकको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र ब्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी ब्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले रत्ननगर नगरपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको हो । 

उपरोक्त संझौतामा नेपाल वैंक लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा रत्ननगर  नगरपालिकाको तर्फबाट नगर प्रमुख नारायण वन वाट हस्ताक्षर गरिएको थियो । उक्त कार्यक्रममा रत्ननगर  नगरपालिकाका उपप्रमुख बिमला देवी दुवाडी, प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवर, नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त, प्रमुख संचालन अधिकृत लक्ष्मण पौडेल, सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, बागमती प्रादेशिक कार्यालयका प्रमुख प्रतिभा डङ्गोल, कृषि कर्जा डिभिजनका प्रमुख बिष्णुहरी न्यौपाने,  बैंकको रत्ननगर शाखाका शाखा प्रबन्धक रविन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो ।

नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले २०३ वटा शाखाहरु, १३२ बटा एटिएम तथा ३८ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आर्थिक बर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडि बढाईरहेको छ ।