काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ। 

गत माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्घिका आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्घिका आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ। गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६ प्रतिशतले वृद्घि भएको देखिन्छ भने कर्जा विस्तार २८.५१ प्रतिशतले वृद्घि भएको देखिन्छ। 

वाणिज्य बैंकहरुमध्ये १६ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्घि भएको छ भने १० वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ। वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्घिदर १०.३७ प्रतिशत रहेको छ।

त्यसैगरी २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्घि भएको छ। औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्घि भएको देखिन्छ। 

नेपाल अधिराज्यभर २१३ शाखा, १४७ एटीएम मेसिनका साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको नेपाल बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवासुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ। 

दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ। निक्षेपमा आकर्षक ब्याजदर प्रदान गर्नुका साथै सरकारी बैंक भएका कारण पनि यस बैंकको बचतखाता एवं मुद्दति खाताहरुमा निक्षेपकर्ताहरुको आकर्षण बढिरहेको छ।