काठमाण्डौ । सरकारको समेत स्वामित्व रहेको नेपाल बैंक लिमीटेड फेरि पुरानै लयमा फर्किन लागेको संकेतहरु देखिएको छ । लामो समयसम्म मुख्य वित्तीय सूचकहरुमा उल्लेख्य प्रगति गर्न नसकेको यो बैंकको पछिल्ला समयको प्रगति निकै सुस्त छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा पनि बैंकको त्यही सुस्तताले निरन्तरता पाएको छ । 

बैंकले आज प्रकाशित गरेको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा खूद नाफा लगायतका मुख्य सूचक घटेको अवस्था देखिएको हो । 

नेपाल बैंकले समीक्षा अवधिमा २ अर्ब १९ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद नाफा २ अर्ब २६ करोडभन्दा बढी थियो । 

बैंकको संचालन मुनाफामा त पहिरै गएको देखिएको छ । अघिल्लो वर्ष ३ अर्ब ४३ करोड रुपैयाँभन्दा धेरै रहेको संचालन मुनाफा २४ प्रतिशतले घटेर २ अर्ब ६१ करोडमा सीमित बन्न पुगेको हो । 

खूद मुनाफा २ अर्ब १९ करोड रहे पनि विभिन्न नियामकीय व्यवस्थाका कारण बैंकको वितरणयोग्य मुनाफा ६८ करोड ५३ लाख रुपैयाँ मात्र कायम भएको छ । यही अवस्था चौथो त्रैमाससम्म पनि कायम रहे नेपाल बैंकले यो वर्ष सेयरधनीलाई मुश्किलले ६ प्रतिशतसम्मको मात्र रिटर्न दिनसक्ने हैसियत बनाउने देखिन्छ । 

बैंकले अघिल्लो वर्ष समान अवधिमा ४ अर्ब ७१ करोडमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर ४ अर्ब ७३ करोड पुर्याएको छ भने रिटेन अर्निङतर्फको अधोगतिलाई चाहिँ सम्हाल्न नसकेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ अर्ब ७३ करोड रहेको यस्तो अर्निङ घटेर यो वर्ष २ अर्ब ७० करोडमा सीमित बनेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ८७ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ६२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

नाफा घटेसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष यही अवधिसम्म २३.८७ रुपैयाँ रहेको इपीएस घटेर यो वर्ष २०.३० रुपैयाँमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्ष २.२९ प्रतिशत रहेको खराब कर्जा अनुपात सामान्य घटी यो वर्ष २.०६ प्रतिशत कायम भएको छ भने कस्ट अफ फण्ड ५.७९ प्रतिशत, सीडी रेसियो ९०.३६ प्रतिशत, आधार दर ८.१९ प्रतिशत, पीई रेसियो १६.०१ गुणा, तरलता अनुपात २०.४७ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.१९ प्रतिशत कायम भएको छ ।