काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खासै राम्रो प्रगति गरेन । यसअघिका केही त्रैमासहरुमा निकै राम्रोे प्रगति गरेको बैंक सुस्ताउन थालेको देखिएको हो । 

समीक्षा अवधिमा बैंकको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा फ्री प्रफिट घटेको छ भने खूद नाफामा न्यून प्रगति भएको छ । 

अघिल्लो वर्ष १ अर्ब ६३ करोड रहेको फ्री प्रफिट घटेर यो वर्ष १ अर्ब ५७ करोडमा सीमित भएको हो । 

यस्तै, अघिल्लो वर्ष १ अर्ब ६३ करोडमा सीमित संचालन मुनाफा सामान्य बढी १ अर्ब ६६ करोडको उचाईमा पुगेको छ । 

बैंकले १ अर्ब ८३ करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष २ अर्ब ३१ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी सामान्य बढेको छ । अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ९४ करोड रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष ३ अर्ब १६ करोडको उचाईमा पुगेको हो । 

यो अवधिमा बैंकले १ खर्ब ५ अर्ब निक्षेप संकलन गरी ८५ अर्ब ७९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १५ प्रतिशतले बढाएको बैंकले कर्जातर्फ भने ९.०१ प्रतिशतको मात्र प्रगति गरेको छ । यसले बैंकले कर्जा र निक्षेपको बढोत्तरीमा सन्तुलन कायम गरेको देखिन्छ ।

बैंकले आफ्नो रिजर्बकोषमा भने २८९.३० प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष ५ अर्ब ४ करोडमा सीमित रिजर्ब बढेर १९ अर्ब ६५ करोडको उचाईमा पुगेको छ । 

बैंकले अघिल्लो वर्ष ३.२३ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर २.७४ प्रतिशतमा सीमित गर्ने सफलता पाएको छ । 

वितरणयोग्य मुनाफामा गिरावट आएपछि बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १६.८७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४०.७४ रुपैयाँ रहेको इपीएस घटेर ३३.८७ रुपैयाँमा सीमित भएको हो । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ बढेर ३००.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८.७७ गुणा कायम भएको छ ।