नेपाल बैंकका साथीहरु, 
म चार वर्षका लागि तपाईहरुको सीइओको रुपमा नियुक्त भएको थिएँ, यो कुरा यहाँहरुलाई विदितै थियो । मेरो कार्यकाल हिजो(चैत ११) गतेदेखि सकिएको छ । 

मेरो करिअर र नेपाल बैंकको इतिहासको एउटा च्याप्टर बन्द भएको मैले महसुस गरेको छु र आजदेखि नै नयाँ च्याप्टरको सुरुवात पनि भएको छ । 

इमानदार भएर भन्नुपर्दा मलाई आज बैंक छाडिरहँदा केही अनौठो महसुस भइरहेको छ । तर, यसका लागि खास कारण भने केही छैन, किनभने यो सामान्य बहिर्गमन हो, जुन म मेरो नियुक्तिको पहिलो दिनदेखि नै चाहन्थेँ । यो अवस्थामा नेपाल बैंकको विभिन्न शाखा तथा प्रादेशिक कार्यालयमा कार्यरत सबै सहकर्मी तथा मेरो विदाई समारोहमा सहभागी हुन नसकेका मेरा मित्रहरुलाई जाँदा जाँदै मैले केही सम्बोधन गर्नुपर्छ भन्ने कुरा मेरो जिम्मेवारी सम्झिएर यो म्यासेज लेखिरहेको छु ।

मैले बैंक छाडेसँगै डेपुटी सीइओ कृष्णबहादुर अधिकारीले कार्यबाहक सीइओको रुपमा कार्यभार सम्हाल्नुहुनेछ, यो  सम्बन्धमा संचालक समितिले निर्णय गरिसकेको छ । 

तपाईहरु सबैलाई थाहा नै छ, उहाँ आफ्नो जिम्मेवारी र उच्च नैतिक व्यवसायिकता भएको व्यक्ति हुनुहुन्छ । तपाईहरुले उहाँलाई पूर्ण सहयोग गर्नु नै हुनेछ भन्ने मेरो अपेक्षा छ । अर्को व्यवस्था नभएसम्मका लागि उहाँले बैंकलाई राम्रो ढंगले अगाडि बढाउनुहुनेछ भन्ने आशा गर्छु । 

हामी सबैलाई थाहा छ, सबै राम्रा कुरा अन्तमै आउँछन्, हामीकहाँ पनि त्यही भएको छ । मैले यहाँ सीइओ हुनु नै राम्रो कुरा हो भनिरहेको छैन । तर, सीइओ भइरहनु नराम्रो कुरा पनि होइन । मेरो भन्नुको तात्पर्य के हो भने राम्रो चिज त्यसबेला प्राप्त हुन्छ, जब तपाईहरुजस्ता राम्रा मान्छेहरुसँगको सहकार्य जम्छ । त्यसकारण यहाँ पनि यो राम्रो चिज अन्तमा आएको छ । मैले गत बिहीबार हेड अफिसका सिनियर अफिसर्सहरुलाई पनि यही कुरा भनेको थिएँ र आज फेरि त्यही कुरा दोहोर्याउँदैछु, जो बिहीबारको मिटिङमा सहभागी हुनु भएको थिएन । 

तपाईहरुले मेरो चार वर्षे कार्यकालमा गर्नुभएको सहयोग, सहकार्यप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । तपाईहरुको सहयोगबिना हामीले आज जे उपलब्धि गरेका छौ, त्यो संभव थिएन । तपाईहरुको योगदानप्रति म निकै अनुग्रहित छु र तपाईहरुको म सधैं ऋणि नै रहनेछु । 

नेपाल बैंकको विगतको गरिमा र आकर्षण लगानीकर्ता र अन्यको आँखामा फर्किन थालेको तथ्यांकहरुले देखाएका छन् । खासमा त्यो गरिमा फर्काउने र बैंकलाई पहिलाकै लोभलाग्दो अवस्थामा पुर्याउने काम सजिलो थिएन, तर हामी सबैको तीव्र इच्छाशक्तिले यो संभव भयो । तसर्थ आज हामी गर्व गर्नसक्ने भएका छौ । 

म आज यसकारण पनि खुशी छु कि म वित्तीय रुपमा निकै बलियो बैंक मेरो उत्तराधिकारीलाई हस्तान्तरण गरेर विदा हुने सुअवसर प्राप्त गर्दैछु ।

यो चार वर्षको अवधिमा मैले यहाँहरुबाट धेरै कुरा सिकेको छु, ज्ञान कमाएको छु । तपाईहरुजस्ता असल मानिसहरुसँग काम गर्ने अवसर प्राप्त हुनु मेरो लगानी कम महत्वपूर्ण पनि थिएन । मैले नेपाल बैंकलाई मेरो व्यवसायिक करिअरको एक महत्वपूर्ण असाइनमेन्टको रुपमा लिएको थिएँ । यो असाइनमेन्टले मेरो जीवनमा केही कुरा थपिदिएको छ । अझ खुलस्त भन्नुपर्दा सबै खालका असाइनमेन्टले सबैको जीवनमा केही न केही पक्कै थपिदिन्छन्, तर नेपाल बैंक मेरा लागि स्पेशल बन्यो ।

सायद, तपाईहरुमध्ये अधिकांशले देख्नुभयो होला म रिजल्ट ओरिएन्टेड मान्छे हुँ भन्ने कुरा । परिणामबिनाको श्रम(मेहेनत) बेकार छ भन्ने म मान्यता राख्छु । तर, यो स्टाइलले सधैं राम्रो मात्र गर्दैन भन्ने कुरा म स्वीकार गर्छु । यो स्टाइलमा काम गर्दा सिस्टमको इम्प्रूभमेन्ट कहिलेकाही पछाडि पर्नसक्दो रहेछ । 

जब मैले बैंकमा काम गर्न थालेँ, यो वित्तीय रुपमा बिरामी थियो । यसले प्राकृतिक रुपमै व्यवस्थापकीय प्राथमिकता खोजेको थियो । नेपाल बैंकले जसरी पनि यो बिरामी अवस्थाबाट पार पाउनुपर्ने थियो, र, आजका लागि राम्रो समाचार भन्नुपर्छ ः यो संभव भयो । यदि म आज सीइओको रुपमा नियुक्त भएको थिएँ भने(जुन अब संभवै छैन), तपाईहरुले यसअघिको भन्दा फरक देवेन्द्रप्रताप शाह पाउनुहुन्थ्यो र मेरो प्राथमिकता यो बेला केही फरक हुन सक्थ्यो । 

पहिलादेखि नै म तपाईहरुको सीइओ हुन चाहन्थे, मात्र चार वर्षका लागि, त्यो भन्दा धेरै होइन । मैले सुरुवातदेखि नै यो कुरा भनेको थिएँ र म मेरो शब्दप्रति प्रतिबद्ध र इमानदार थिएँ ।

मैले बैंक छाड्दै गर्दा गर्न नपाएका कतिपय काम पनि बाँकी नै छन् । त्यसकारण मैले गर्न नभ्याएका त्यस्ता कामहरुको सूचि तयार गरी मैले संचालक समितिका अध्यक्षलाई हस्तान्तरण गरेको छु । मलाई विश्वास छ संचालक समिति र नयाँ व्यवस्थापनले मेरा सुझावहरुको कार्यान्वयनमा ध्यान दिनेछ । मैले दिएका सुझावहरु कार्यान्वयन भएको खण्डमा नेपाल बैंक अझै बलियो हुनेमा म निश्चिन्त छु । 

तपाईहरुसँग काम गर्दा र कुरा गर्दा सीइओको कार्यकालमा मबाट गल्ती कमजोरीहरु भएका हुनसक्छन् । मैले तपाईलाई दुखाएको हुनसक्छु । यी सबैका लागि म सरी भन्न चाहन्छु । मेरा परिवारका सदस्य मलाई सर्टटेम्पर भएको व्यक्ति भन्ने गर्छन् र म मेरो दिमागमा जे चिज छ, त्यसलाई लुकाउन सक्दिँन । कतिपय अवस्थामा दिमागमा आएको चिज समेत बाहिर ल्याउन हुँदैन, लुकाउनुपर्ने हुँदो रहेछ । तर, म यसो गर्न सक्दिँन । प्राकृतिक रुपमा सर्टटेम्पर हुनु राम्रो होइन, तर मैले मेरा परिवारका सदस्यलाई भन्ने गरेको छु, सर्टटेम्पर धेरै गलतै पनि चाहि पक्कै होइन । 

बैंकको तर्फबाट हिजो आयोजित विदाई समारोहमा म उपस्थित भइसकेको छु । औपचारिक विदाई कार्यक्रमका वक्ताहरुले व्यक्त गर्नुभएको विचार म सधैं सम्झिरहनेछु । यस्तै, डिनर प्रोग्रामको दौरान अन्य साथीभाईले व्यक्त गर्नुभएको शब्दलाई म सधैं मिस गर्नेछु । तपाईहरुबाट फेयरवेलपछि प्राप्त म्यासेजहरु पनि म सधैं सम्झिरहनेछु । 

हिजोको फेयरवेल कार्यक्रम उत्कृष्ट थियो । केबी जीको म उच्च प्रशंसा गर्छु र मेरो विदाईलाई भव्य बनाउने जिम्मेवारी बहन गर्नुहुने अन्यप्रति समेत मेरो नमन छ । 

मेरो कार्यकाल सकिनु भन्दा एक वा दुई दिनअघि नै मैले यो म्यासेज पोस्ट गर्नुपर्ने थियो, तथापि म त्यसबेला बैंककै काममा फिल्डमा थिएँ । सही समयमा मैले यो म्यासेज पोस्ट गर्न नसकेकोमा क्षमा चाहन्छु । 

र, अन्तमा तपाई र नेपाल बैंकलाई गुडबाई भन्न चाहन्छु । 

धन्यवाद ।

देवेन्द्रप्रताप शाह
(चार वर्षे कार्यकाल सकिएसँगै शाहले नेपाल बैंक छाडेका हुन् । उनले फेसबुकमा अंग्रेजीमा पोस्ट गरेका म्यासेजलाई अनुवाद गरी राखिएको हो।)