काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बोनस सेयरका लागि नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडको सेयरमूल्य आइतबार समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि दुवै बैंकको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले १५ प्रतिशत बोनस सेयरका लागि नेपाल बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २७५.६५ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै नेप्सेले ६ प्रतिशत बोनस सेयरका लागि कृषि विकास बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३९३ं.४० कायम गरेको छ ।

अब दुवै बैंकको सेयर कारोबार समायोजित मूल्यअनुसार नै खुल्नेछ ।

करिब दुई दशकपछि सेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको नेपाल बैंकले आफ्नो ६० औँ वार्षिक साधारणसभा यही पुस २५ गते गर्दैछ ।

सभामा बैंक प्रस्ताव गरेको चुक्तापुँजीको कुल २५ प्रतिशतका दरले हुन आउने लाभांश पारित गर्नेछ । प्रस्तावित लाभांश १५ प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतका दरले हुन आउने ९८ करोड ११ लाख १४ हजार ८०० रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

सभामा बैंकको अधिकृत पुँजी रु १० अर्बबाट वृद्धि गरी रु १५ अर्ब कायम गर्ने र सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफामा संशोधन गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

कृषि विकास बैंक लिमिटेडको १३ औँ वार्षिक साधारणसभा पुस २७ गते कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र भक्तपुरको बोडेमा आयोजना गर्दैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट बैंकले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३० प्रतिशत लाभांश पारित गर्ने छ । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।