काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेता पार्टीबाट निश्कासित भएका छन् । 

एमालेको केहीबेरअघि सकिएको स्थायी कमिटी बैठकले प्रधानमन्त्री बनाउन विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने पार्टीका वरिष्ठ नेता नेपाल र खनालसहितका ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको हो । 

पार्टी अनुशासनविपरीत गतिविधिमा संलग्न भएको भन्दै निश्कासनमा पर्नेहरुमा पार्टीका नेता भीम रावल, विघटित प्रतिनिधि सभाका सांसदहरु रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, निरा जैरु, कलिना खान र लक्ष्मीकुमारी चौधरी रहेका छन् । 

पार्टी अनुशासनविपरीत काम गरेको भन्दै ती ११ जनालाई नै जेठ ८ गते स्पष्टीकरण सोधिएको थियो । तर, कुनै पनि नेताले स्पष्टीकरण दिएनन् ।