काठमाण्डौ। नेपाल र रुसबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मी र नेपालका लागि रुसी राजदूतावासकी फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभाबीच सोमबार भेटवार्ता भएको छ।

नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै देशबीच लामो सम्बन्ध रहि आएको उल्लेख गर्दै आपसी सहकार्यमा दुवै देशको पर्यटन प्रवर्द्धन गर्न सकिने कुरामा जोड दिइएको थियो। भेटका क्रममा दुवै देशका कूटनीतिक व्यक्ति, सेलिब्रेटी र सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरु आदानप्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो।

बोर्डका कार्यकारी प्रमुख (सिइओ) रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपालले विस्तारै पूर्ण खोप लगाएका पर्यटकबाट पर्यटनलाई सुचारु गर्ने गरी काम गरिरहेको जानकारी दिए। उनले साहसिक पर्यटनमा रुची राख्ने रुसी पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताए। 

रेग्मीले नेपालका विभिन्न क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भएकोले हिमाल आरोहण र ट्रेकिङ  गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताए। उनले पर्यटन बोर्ड र नेपालस्थित रसियन कल्चर सेन्टरसँगको सहकार्यमा भाषा प्रशिक्षण, नेपालको ऐतिहासिक सहर भक्तपुर र रुसको एतिहासिक सहर ड्रविनबीच भगिनी नगरेको सम्बन्ध स्थापना गर्नेलगायतका विषयमा सहकार्य गरेर काम काम गर्न सकिने बताए। 

नेपालका लागि रुसी राजदूतावासकी फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभाले नेपालको कला संस्कृति र विविधताप्रति रुसी पर्यटक मोहित हुने गरेको उल्लेख गर्दै रुसी नागरिकले नेपाललाई उत्कृष्ट गन्तव्य रुपमा लिने गरेको बताइन्। रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाण्डौका निर्देशक समेत रहेकी आन्द्रोसोभाले दुवै देशबीचको सांस्कृतिक तथा पर्यटकीय अनुभव आदान प्रदान गर्न आफुहरु सदा तयार रहेको बताइन्। 

उनले बोर्डले अघि सोरका विषयहरूमा आफूहरुले उचित पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गरिन्।