काठमाण्डौ । नेपाल र अस्ट्रेलियाबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनन्जय रेग्मी र नेपालका अस्ट्रेलियन राजदूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच भेटवार्ता भएको छ। 

नेपाल पर्यटन बोर्डमा सोमबार भएको भेटमा देशबीच दुवै देशको पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो। 

दुई देशबीच लामो समयदेखि प्रगाढ सम्बन्ध रहिआएको उल्लेख गर्दै भेटका अवसरमा आर्थिक तथा पर्यटन कूटनीतिका माध्यमबाट दुवै देशले फाइदा लिन सक्ने कुरामा जोड दिइएको थियो । यस्तै दुवै देशका कूटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिन र पर्यटनका राम्रा अभ्यासहरु आदानप्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो।

सीईओ रेग्मीले कोभिड १९ पछि अहिले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको जानकारी दिँदैे साहसिक पर्यटनमा रुचि राख्ने अस्ट्रेलियन पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताए। उनले अस्ट्रेलिया र नेपालबीच सीधा हवाई कनेक्टिभिटी नभएका कारण पर्यटक कम आएको उल्लेख गर्दै हवाई कनेक्टिभिटी बढाउन दूतावासमार्फत पहल गर्न आग्रह गरे। 

नेपालका अस्ट्रेलियन राजदूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नले नेपालको विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि दूतावास तयार रहेको बताए। अस्ट्रेलियामा नेपाली समुदायको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा कूटनीतिक तथा जनस्तरबाट समेत दुई देशबीचको सम्बन्धलाई थप अगाडी बढाउनुपर्नेमा जोड दिए।