काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्न श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्कः लंकापेसँग समझदारी पत्र (एम.ओ.यु.) मा हस्ताक्षर गरेको छ। यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्ताहरुलाई निर्वाध रुपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउँछ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओे) दिवसकुमार सापकोटा र लंकापेका सीईओे चन्ना डि सिल्भाले समझदारी पत्र(एमओयु)मा हस्ताक्षर गरेका थिए। हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाण्डौस्थित श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरि प्रमुख श्रीमती निलुषा दिलमिनीको विशेष उपस्थिति रहेको थियो भने एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डिरेक्टर डेनियल डी. श्रेष्ठ र फोनपेका अध्यक्ष विश्वास ढकालको उपस्थिति थियो।

यो सहकार्य दुई देशबीच भ्रमण गर्नेहरुको सहजताका लागि अत्यन्त प्रभावकारी हुनेछ। श्रीलंकाका नागरिकहरु नेपाल भ्रमण गर्दा लंकापेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टहरुमा ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन्। 

त्यसैगरी श्रीलंका जाने नेपाली नागरिकहरुले फोनपेद्वारा अधिकृत एपहरु प्रयोग गरी ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन्। यस पश्चात फोनपे वा लंकापेमध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरुले यी दुई सञ्जालका मर्चेन्टहरुमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्नेछन्।

यस सहकार्यमा उत्साहित हुँदै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने, ‘यो सहकार्य भनेको नयाँ अवसरहरु विस्तार गर्न, वित्तीय समावेशीकरण बढाउन र समृद्ध डिजिटल अर्थतन्त्र सिर्जना गर्न प्रविधिको प्रयोग गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो। यो सहकार्यले, नवप्रवर्तन र अन्तरआबद्धताद्वारा राष्ट्रको आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुग्नको लागि मद्दत पुर्याउनेछ। यो साझेदारी हाम्रा लागि निकै महत्त्वपूर्ण छ। हामीले नेपालमा मात्र नभई हाम्रो सबैभन्दा नजिकको दक्षिण एसियाली देश श्रीलंकामा पनि क्रसबोर्डर डिजिटल भुक्तानीलाई छिटो, सुरक्षित र सजिलो बनाउन मद्दत गर्नेछौँ।’

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै, लंकापेका प्रमुख कार्यकारी अधिकृत चन्ना डी सिल्भाले भने, ‘हामी फोनपेसँग अन्तरआबद्धताको यो यात्रा सुरु गर्न पाउँदा हर्षित छौं। यो साझेदारी, श्रीलंकामा डिजिटल भुक्तानीमा फड्को मार्ने उद्देश्यको महत्त्वपूर्ण कोसेढुंगा सावित भएको छ। यो रणनीतिक साझेदारीले हाम्रा ग्राहकहरुको लागि सहज र समावेशी भुक्तानीको वातावरण सिर्जना गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ। हाम्रा सम्बन्धित प्लेटफर्महरुबीचको दुरी घटाई, हामी नयाँ सम्भावनाहरु खोल्दैछौँ जसले व्यक्ति र व्यवसायहरुलाई सहज रुपमा भुक्तानी कारोबार गर्ने वातावरण बनाउँछ।’

ग्रुप स्ट्राटेजी डिरेक्टर डेनियल डी श्रेष्ठले पनि आफ्नो विचार व्यक्त गर्दै भने, ‘श्रीलंकाको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कसँगको यो समझदारी–हामीले बैंक तथा वित्तीय संस्थाहरुसँग संयुक्त रुपमा नेपालमा हासिल गरेका सफलताहरुलाई अन्तर्राष्ट्रिय बजारमा पनि दोहोर्याउने हाम्रो दीर्घकालीन रणनीतिको हिस्सा हो। डिजिटल भुक्तानी सेवाहरुमार्फत हाम्रा देशवासीहरुको जीवन सजिलो बनाउने यस संयुक्त अभियानमा हामीलाई विश्वास गर्नुभएकोमा हामी लंकापेलाई धन्यवाद दिन्छौँ। हाम्रो अन्तर्राष्ट्रिय विस्तारको यात्रामा, हामी विश्वस्त छौँ कि— हामीले हाम्रा स्वदेशी प्रविधिहरु र ज्ञानहरु अन्तर्राष्ट्रिय बजारमा लैजाने अवसरहरु मात्र पाउने छैनौं, हामीले अन्तर्राष्ट्रिय बजारमा सफल साबित भएका प्रविधि र ज्ञान नेपालमा पनि प्रयोग गर्ने प्रशस्त अवसर प्राप्त प्राप्त गर्नेछौँ।’

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा अतिथि तथा प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गर्दै फोनपेका अध्यक्ष विश्वास ढकालले आफ्नो उत्साह व्यक्त गरे, ‘यो फोनपेका लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि डिजिटल भुक्तानी क्षेत्रमा अन्तरआबद्धता हासिल गर्ने ऐतिहासिक कदम हो। लंकापेसँग हाम्रो सहकार्यको प्रयासलाई मूर्तरुप दिन सहयोग र मार्गनिर्देशन गर्नुहुने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलाई हामी हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ। श्रीलंका नेपालबीचको यो भुक्तानी अन्तरआबद्धताले उहिलेसम्म दुईदेशबीच रहँदै आएको साँस्कृतिक सम्बन्धसँगै व्यापारिक कारोबारलाई पनि सहज र सर्वसुलभ बनाई दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनलाई महत्वपूर्ण कोशेढुंगा साबित हुनेछ।’

फोनपे एक भुक्तानी प्रणाली अपरेटर हो जसले अन्तर–बैंक व्यक्ति–देखि–व्यक्ति (पर्सन टु पर्सनः पि टु पि) र व्यक्ति–देखि–व्यवसायी (पर्सन टु मर्चेन्टः पि टु एम) लेनदेनहरु यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरुमार्फत सुविधा दिन्छ। फोनपे, नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटरः पीएसओ)का रुपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो र हालपनि राष्ट्र बैंकद्वारा नियमन गरिँदै आएको छ। ‘पीसीआईडीएसएस’ प्रमाणीकरण प्राप्त गर्ने फोनपे, नेपालको पहिलो गैरकार्ड–आधारित ‘पीएसओ’ पनि हो।

फोनपे एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो। नेपालमा आईएसओ २७००१ः२०१३ प्रमाणित भुक्तानी सेवा सञ्चालकका रुपमा फोनपेले बैंक र वालेट ग्राहकहरु साथै व्यवसायहरुलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरु दिँदै नगदरहित अर्थतन्त्रमा योगदान गरिरहेको छ। फोनपे भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन प्रविधिको प्रयोगमार्फत मोबाइल भुक्तानी नेटवर्कमा आविष्कारहरु ल्याउनमा केन्द्रित छ।

लंकापे श्रीलंकाको प्रमुख राष्ट्रिय डिजिटल भुक्तानी सेवा नेटवर्क हो। यसले देशका विभिन्न वित्तीय संस्थाहरु र भुक्तानी सेवा प्रदायकहरुमा सुरक्षित र प्रभावकारी लेनदेनको सुविधा प्रदान गर्दै राष्ट्रिय भुक्तानी नेटवर्कका रुपमा काम गर्दछ। सन् २००२ मा स्थापित लंकापे, लंकाक्लियर प्रालिको स्वामित्वमा सञ्चालित रहेको छ। लंकाक्लियर, श्रीलंकाको केन्द्रीय बैंक र देशका वाणिज्य बैंकहरुबीचको संयुक्त कम्पनी हो।

लंकापेले रियलटाइममा अन्तरबैंक रकम ट्रान्सफर, अनलाइन र मोबाइल बैंकिङ सेवाहरु, इलेक्ट्रोनिक बिल भुक्तानी, डेबिट र क्रेडिट सेवाहरु र एटीएम सेवाहरुसहित भुक्तानी सेवाहरु प्रदान गर्दछ। नेटवर्कले सहभागी बैंकहरु र भुक्तानी सेवा प्रदायकहरुबीच अन्तरसञ्चालन सुनिश्चित गर्दछ। जसले ग्राहकलाई निर्वाध रुपमा रकम ट्रान्सफर गर्न र विभिन्न प्लेटफर्महरुमा भुक्तानी गर्न सम्भव बनाउँदछ।