काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सोमबार एक कार्यक्रमका बीच ह्विलचियर हस्तान्तरण गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौतापत्र आदन प्रदान गरी औपचारिक रुपमा ह्विलचियर हस्तान्तरण गरिएको हो। 

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्विलचियर प्रदान गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताए। उनले विगतदेखि नै कम्पनीले विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको स्मरण गराए। 

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी भएको नाताले आफूहरुको समाजप्रति पनि ठूलै दायित्व रहेको बताए। त्यसैले हाललाई १०० वटा ह्विलचियर शिक्षण अस्पताललाई प्रदान गरिएको र यस्ता सामाजिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे। 

शिक्षण अस्पतालका कार्यकारी निर्देशक काफ्लेले बिरामी अस्पताल आउँदादेखि नै ह्विलचेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकताअनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरे। यस्ता मनकारी संघसंस्थाहरुको सहयोगले नै अस्पताल जीवन्त रहने र सेवा प्रवाहमा सहजता आउने उनको भनाइ थियो।