काठमाण्डौ । एक वर्षअघि प्रतिकित्ता १९०० रुपैयाँभन्दा माथि किनबेच भएको नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य घटेर अहिले ६७५ रुपैयाँ प्रतिकित्ता हाराहारीमा सीमित बन्न पुगेको छ । बजारको ‘ब्लु चिप’ सेयरको रुपमा स्थापित नेपाल लाइफको अत्यासलाग्दो ओरालो यात्राबाट लगानीकर्ता अत्तालिएका छन् । 

कतिपय लगानीकर्ताले ‘सुपर घाटा’ सहेर नेपाल लाइफ इन्स्योरेन्सको सेयर फालिसकेका थिए । तर, कतिपय भने यो कम्पनीको सेयर होल्ड गर्दै गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणको प्रतिक्षामा बसे । वित्तीय विवरण पनि लगानीकर्तालाई आश्वस्त बनाउने खालको आएन । लगानीकर्ताले ध्यान दिने गरेका खूद नाफा, इपीएस लगायतका सूचक नराम्ररी प्रभावित भएको वित्तीय विवरणमा देखियो । यो पछि लगानीकर्ता झनै अत्तालिएका छन् । कतिपयले १९०० को सेयर ७०० मा आउँदा सुपर घाटा खाएर बिक्री गरे । नेपाल लाइफको सेयर बिक्री गर्ने क्रम जारी नै छ । 

धेरै लगानीकर्तामा नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य अझै तल जान्छ कि भन्ने त्रास छ । के अब नेपाल लाइफ इन्स्योरेन्स दोश्रो बजारको ‘ब्लुचिप’ कम्पनी रहेन ? निकै गर्विलो लाभांश इतिहास बनाएको यो कम्पनी फेरि पुरानै अवस्थामा फर्किन सक्छ या सक्दैन ? यो कम्पनीको सेयर बिक्री नगरी बसेकाहरुले होल्ड गर्न ठीक छ कि छैन ? वा, नयाँ लगानीकर्ताहरुले निकै न्यून विन्दूमा झरिसकेको यो कम्पनीको सेयर खरीद गर्नु चाहिँ उपयुक्त छ कि ?

लगानीकर्ताका यिनै जिज्ञासाहरुको उत्तर हामीले नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीसँग खोज्यौं । ७ महिनादेखि नेपाल लाइफ इन्स्योरेन्सको सीइओको रुपमा रहेका पराजुलीको भनाईमा लगानीकर्ताहरु अत्तालिनुपर्ने अवस्था छैन । ‘नाफा के कारण घटेको हो भन्ने कुरा लगानीकर्ताले बुझ्न आवश्यक छ ।’ उनले बिजशालासँग भने–‘मुख्य वित्तीय सूचकमा हाम्रो कम्पनीले यो वर्ष पनि राम्रै ग्रोथ गरेको छ । पछि फिर्ता हुने शीर्षकमा गएको पैसालाई हेरेर मात्र सेयर खरिदबिक्रीको निर्णय लिनू वा ‘नेपाल लाइफ अब बर्बाद भयो’ भन्नू सर्वथा गलत हुनेछ ।’ 

यसकारण आत्तिनुपर्दैन लगानीकर्ता 
सीइओ पराजुलीकाअनुसार नेपाल लाइफको सेयरमा लगानी गरेकाले अत्तालिनुपर्ने अवस्था छैन । ‘संस्थाको सोर्स अफ विजिनेशसँगै समग्र वित्तीय स्वास्थ्य कस्तो छ भनेर हेर्नुपर्छ । डेटा केलाउनुपर्छ । व्यापार नै घटेको हो कि अन्य केहीको प्रभाव परेर नाफा घटेको हो भन्ने तथ्यमा विचार गर्नुपर्छ ।’ उनले भने–‘फाइनान्सियल प्यारामिटर्सहरुलाई राम्रोसँग केलाउने हो भने नेपाल लाइफको सबै मुख्य सूचकमा ग्रोथ नै देखिन्छ । कम्पनी पहिलाभन्दा झन् बलियो भएको छ ।’ 

कम्पनीले गत वर्ष ३५ अर्ब ५० लाख ग्रस प्रिमियम संकलन गरेको थियो । यसमा १० प्रतिशतको ग्रोथ छ । यो डेटाले कम्पनीले व्यवसाय नै वृद्धि गरिरहेको छ भन्ने तथ्य पुष्टि गर्छ । 

‘गत वर्ष ७० करोड ९२ लाख नाफानोक्सानमा देखाएका छौं । पिएनएममा ट्रान्सफर भएको प्रतिफल झण्डै ७८ करोड भएको छ । यसरी हेर्दा ८ करोडको वृद्धि देखिन्छ । रिटर्नको हिसाबले पनि १० प्रतिशतको ग्रोथ नै देखिन्छ ।’ उनले थपे–‘पूँजीको हिसाबले गत वर्ष ७ अर्ब १९ करोड थियो । १४ प्रतिशत बोनस सेयर दिएपछि ८ अर्ब २० करोड पुगेको छ । बीमा समितिले तोकेकोभन्दा निकै धेरै चुक्तापूँजी छ । मर्जर र एक्वीजिसनमा जानुपर्ने अवस्था छैन ।’ 

लगानीकर्ताले कम्पनीले गर्ने लगानीमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । गत वर्ष ११७ अर्बको लगानी थियो, अहिले त्यो बढेर १४३ अर्ब पुगेको छ । लगानीमा मात्रै २३ प्रतिशतको ग्रोथ छ । यही लगानीबाट आउने रिटर्नबाट सेयरधनीले प्रतिफल पाउने हुन् । 

उनकाअनुसार गत वर्ष पिएनएममा झण्डै साढे १८ करोड राइटब्याक छ, पूँजीबजारमा गरिएको लगानीबाट । तर, आजको दिनमा ३५ करोड लस छ । यो लसको मुख्य कारण लगानी, कर्जा तथा अन्यबाट आयमा ७७ करोड ८० लाखको प्रभिजनिङ गर्दा भएको हो । 

‘यो कुनै अपरेटिङ लस होइन, पोलिसी लस वा अन्य नसोचेको लस पनि होइन । हामीले ६ अर्बको हाराहारीमा लगानी पूँजीबजारमा गरेका थियौं । बजार नै घटेका कारण प्रभिजनिङ बढी गर्नुपरेको हो ।’ उनले थपे–‘कोभिड, तरलताको अभाव, पोलिसीहरुको बढ्दो सरेण्डर लगायतको एकमुष्ट प्रभाव पूँजीबजारमा परेको छ । बजार घटेका कारण हामीले राख्नुपर्ने प्रभिजनिङ पनि बढेको हो ।’ 

उनले अहिले नेपाल लाइफको सेयरमूल्य मात्र नभई, नेप्से इण्डेक्स पनि हेर्नुपर्नेमा जोड दिए । आफूहरुले पूँजीबजारमा गर्नमिल्ने लगानी गरेको, त्यसकै प्रभिजनिङका कारण ७७ करोड ८० लाखको हिट आएको हो । 

‘हामीले गरेको प्रभिजनिङ र गत वर्षको साढे १८ करोडको राइटब्याकलाई एकछिन हटाएर बाँकी प्यारामिटर्स हेर्नुस् त । यसले पनि देखाउँछ कि हामी कुन अवस्थामा छौं भनेर । यी दुई कुरालाई हटाएर हेर्दा हामीले यो वर्ष पनि ४२ करोड बढी नाफा गरेका रहेछौं ।’ उनले अगाडि भने–‘प्रभिजनिङ कम्पनीको लस होइन । बजार एकदिन माथि त जान्छ, त्यसपछि रिभर्स मात्र होइन, यसबाट अतिरिक्त नाफा पनि आउँछ ।’ 

यति धेरै लगानी स्टक मार्केटमा किन ?
‘हामीले बजार घटेको बेलाको अवस्था मात्र नभई बढेको बेलाको अवस्थाको पनि विश्लेषण गर्नुपर्छ । बजार बढेको बेला सेयर बजारमा गरिएको लगानीबाट हामीले हिजो उल्लेख्य कमाएकै थियौं । कमाएकै कारण सेयरधनीले राम्रो रिटर्न पनि पाउनुभएको थियो ।’ उनले भने–‘नेपालको सेयर बजार बैंकिङ प्रणालीमा तरलता सहज हुनेबित्तिकै बाउन्सब्याक हुन्छ ।’ 

उनले नेपाल लाइफको समग्र प्रदर्शन, डेभिडेन्ट इल्ड तथा इन्भेष्टमेन्ट इल्ड समेत राम्रो रहेको तर्क पेश गरे । कुल १४३ अर्बको पोर्टफोलियोमध्ये धेरै लङटर्म लगानीमा गइसकेको उनले बताए । सबै प्यारामिटरमा संस्था अझै सुदृढ बनेको दाबी गर्दै उनले भने–‘हामीले आज गरेको बुद्धिमतापूर्ण लगानीको प्रतिफल लगानीकर्ताले पछि पाउनुहुनेछ ।’ 

अधिकांश कम्पनीको बोनस रेट घट्दो क्रममा रहे पनि आफूहरुले त्यसलाई मेन्टेन गरिरहेको र कोर विजिनेश तथा मुख्य सूचकहरुमा नेपाल लाइफ झनै बलियो बनेको बताए । ‘सरोकारवालाहरुले हामीप्रति देखाउनुभएको चिन्ता स्वभाविक हो ।’ उनले थपे–‘तर हामीले अहिलेको चुनौतिलाई अवसरमा बदल्नेछौं । लगानीकर्ताको चित्त बुझाउने नै छौं ।’ 

उनले आफूहरु अबको ६–७ महिनाभित्र दुईवटा आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गर्ने तयारीमा रहेको समेत जानकारी दिए । ती दुवै एजीएमबाट लगानीकर्ताले राम्रै रिटर्न पाउने उनको भनाई छ। 

‘अहिले हामीलाई समयले साथ नदिएको मात्र हो । अरु भएको केही होइन ।’ उनले थपे–‘कोर विजिनेशबाट आउने आम्दानीबाट बाँड्न मिल्ने लाभांश क्षमता अहिले पनि घटेको छैन । प्रिन्सिपल्ली हेर्दा हामी साउण्ड छौं ।’ 

कति आउला रिटर्न ?
लगानीकर्ताले कोर विजिनेशको लाभांश क्षमतामा बढी ध्यान दिनुपर्ने पराजुलीको सुझाव छ । हिजोको दिनमा एफपीओ जारी गर्दा त्यसबाट संकलन भएको ६ अर्ब हाराहारीको प्रिमियमलाई पूँजीकरण गर्दै जाँदा केही वर्ष लगानीकर्ताहरुले उच्चतम रिटर्न पाएका उनको भनाई छ । ‘हिजोको दिनमा प्रिमियमबाट आएको पैसाका कारण पनि राम्रो लाभांश क्षमता दिने अवस्थामा थियौं । तर, हामीले त्यो पैसालाई पनि क्यापिटलाइज गर्दै गयौं ।’ उनले भने–‘प्रत्येक वर्ष प्रिमियमको पैसालाई समेत समावेश गरी राम्रो बोनस सेयर दिंदै गयौं । क्यापिटल बेस्डलाई बलियो बनाउँदै गयौं । लगानीकर्ताले थोरै पूँजी हुँदा धेरै रिटर्न पाउनुभयो, अहिले पूँजी बढ्दा थोरै रिटर्न पाएको भान मात्र परेको हो । सबैभन्दा ठूलो कुरा त तपाईको हातमा अहिलेसम्म कति पर्यो भन्ने नै हो ।’ 

आफूहरुले प्रत्येक वर्ष संस्थालाई बलियो बनाउँदै लगेको र लगानीकर्तालाई पनि खुशी बनाउँदै लगेको उल्लेख गर्दै फेरि पनि खुशी बनाउने उद्घोष गरे । 

हिजोको दिनमा प्रिमियमलाई हटाएर हेर्दा लाभांश क्षमता यो वर्ष अझै राम्रो भएको उनको दाबी छ । 

‘अब पनि सेयरधनीले संस्थागत क्षमताअनुसारको रिटर्न पाउनुहुन्छ । त्यो भनेको डिसेन्ट नै हुन्छ । केही प्रतिशत तलमाथि हुनसक्ला, त्यो प्राकृतिक कुरा हो । हतासिनु पर्ने केही छैन।’  उनले थपे ।

कम्पनीमा संस्थागत सुशासन बिग्रिएको हो ?
सेयर बजारका लगानीकर्ताले कम्पनीवाइज हेर्ने अर्को महत्वपूर्ण विषय भनेको संस्थागत सुशासन पनि हो । नेपाल लाइफले केही समयसम्म संक्रमण बेहोर्यो । अहिले पनि कम्पनीमा संस्थागत सुशासन छैन कि भन्ने लगानीकर्ताको आशंकाको विषयमा पनि सीइओ पराजुलीलाई सोधिएको थियो ।

‘कम्पनीको आन्तरिक व्यवस्थापन भद्रगोल छ भन्ने सुनिन्छ नि ?’ भन्ने प्रश्नमा उनले ‘भद्रगोल’ भन्ने शब्दमै आपत्ति जनाए । ‘भद्रगोल भन्ने शब्द मलाई अस्वीकार्य छ । कहिलेकाही संस्थामा केही आन्तरिक र बाह्य चुनौतिहरु आउँछन् । संस्थाको ठूलो दायीत्व बोर्डलाई पनि जान्छ । वर्किङ लेभलमा म्यानेजमेन्टलाई जान्छ । कुनै बेला संस्थामा केही कारण म्यानेजमेन्टमा केही ग्यापहरु हुन गए होलान् । कुनै पनि अपरेटिङ लेभलको काम मात्र होइन, रणनीतिक लेभलको काममा म्यानेजमेन्टको ग्यापलाई संस्थाको ओनरसिप बोर्डले लिनुर्पर्छ नै । त्यसलाई फरक ढंगले हेरिएको मात्र हो । बोर्डले संस्थालाई नै बलियो बनाउन आफ्नो रोल प्ले गरेको हो । त्यसमा केही न केही आउटकम्सहरु आए होलान्, त्यो संस्थाको हितका लागि ठीक थिए ।’ 

उनले आफू व्यवस्थापकीय नेतृत्वमा आएपछि कम्पनी स्मूथ्ली अगाडि बढेको र विगतका कुनै पनि समस्या नरहेको जिकिर गरे । ‘त्यस्तो भएको भए आज पनि हुन्थ्यो होला नि त । सीइओको रुपमा मेरो सातौं महिना भइसकेको छ । परिस्थितिका कारण आएका केही परिणामहरु नमीठा पनि थिए होलान्,  जुन आजको दिनमा छैन । हिजोको दिनमा कम्पनीभित्र निड बेसिसमा केही डिसीजन र एक्सनहरु भएका थिए होलान् । ती सबै संस्थाको हित रक्षाका लागि भएका थिए भनेर बुझ्नुपर्छ । अहिले कुनै समस्या छैन ।’