– अर्जुन तिमिल्सिना

काठमाण्डौ । पुँजीबजारमा जीवन बीमा कम्पनी पनि लगानीकर्ताहरुले धेरै नै रुचाउने सेक्टर हो। बजार तलमाथि हुँदा यो सेक्टरको पनि ठूलै भूमिका रहेको हुन्छ। 

आज हामीले नेपालका जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, नेसनल लाइफ, एसियन लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई आधारभूत र प्राविधिक रुपमा केलाउने कोसिस गरेका छौँ। 

नेपाल लाइफ 

आधारभूत पक्ष

यो कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ र रिजर्भमा २८ करोड ८३ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासम्म कम्पनीको ईपीएस ४.३ रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको ५२ हप्ताको उच्च तथा न्यून मूल्य क्रमशः १९२९ रुपैयाँ र ६६५.५ रुपैयाँ रहेको छ। कम्पनीले पछिल्लोपटक बोनस १४.७४ प्रतिशत र नगद ०.७४ प्रतिशत वितरण गरेको थियो। 

प्राविधिक पक्ष

नेपाल लाइफलाई बोलिंगगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले तल्लो विन्दुमा छोएर मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। यो कम्पनीको मूल्यरेखाहरु केलाउँदा रातो मारुबुजु क्यान्डलपछि डोजी स्टार बनेकोले आगामी दिनमा मूल्यमा बढोत्तरीको सम्भावना देखिन्छ। म्याक्डीमार्फत हेर्दा पनि हिस्टोग्राम नेगेटिभ भए पनि छोटा–छोटा भएका छन्। एमएसीडी लाइन र सिग्नल लाइनबीच दूरी घटेकोले कम्पनीको सेयर घट्ने क्रम रोकिएको देखिन्छ। आरएसआई २९ को ओभर सोल्ड जोनबाट फर्केर ३३ को विन्दुमा पुगेको छ। 

लाइफ इन्स्योरेन्स कर्पोरेसन 

आधारभूत पक्ष

यो कम्पनीको चुक्तापुँजी २ अर्ब ६८ करोड रुपैयाँ र रिजर्भमा ७० करोड ९० लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको ईपीएस ०.३० रुपैयाँ रहेको छ। कम्पनीको ५२ हप्ताको उच्च तथा न्यून मूल्य क्रमशः २४१७ रुपैयाँ र १०८५ रुपैयाँ रहेको छ। कम्पनीले पछिल्लोपटक बोनस २० प्रतिशत र नगद १.०५ प्रतिशत वितरण गरेको थियो। 

प्राविधिक पक्ष

यो कम्पनीको पनि मूल्यरेखाले तल्लो ब्यान्डमा सपोर्ट लिएर माथिको यात्रा तय गर्दै गरेको देखिन्छ। म्याक्डीमा बियारिस क्रसओभर नै रहेको छ। तर हिस्टोग्राम छोटा–छोटा भएका छन्। यो कम्पनीको आरएसआई भने लामो समयदेखि ४० कै विन्दुमा सपोर्ट लिएको छ। यसले कम्पनीको मूल्यमा कुनै पनि बेला उछाल आउन सक्ने देखिन्छ।

नेसनल लाइफ

आधारभूत पक्ष

यो कम्पनीको चुक्तापुँजी ४ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने रिजर्भको आकार ५२ करोड ९२ लाख रुपैयाँको छ। ईपीएस ८.४५ रुपैयाँ रहेको कम्पनीको ५२ हप्ताको उच्च तथा न्यून मूल्य प्रतिकित्ता क्रमशः १२४९ रुपैयाँ र ५१० रुपैयाँ रहेको छ। कम्पनीले पछिल्लोपटक बोनस १९ प्रतिशत र नगद १ प्रतिशत वितरण गरेको थियो। 

प्राविधिक पक्ष

यो कम्पनीलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखा मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। अर्थात मध्य ब्यान्डलाई ब्रेक गरेमा खरिदको अवसर हुन सक्छ। म्याक्डीमा बुलिस क्रसओभर भने भइसकेको अवस्था छैन। सेयरको मूल्य घट्दा पनि आरएसआई भने घटेको छैन। यसले कम्पनीको सेयर न्यून विन्दुमा कर्नरिङ भएको हुन सक्ने देखिन्छ।

एसियन लाइफ 

आधारभूत पक्ष

चुक्तापुँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ४२ करोड ८२ लाख रुपैयाँ रहेको छ। ईपीएस १०.०९ रुपैयाँ रहेको कम्पनीको ५२ हप्ताको उच्च मूल्य तथा न्यून मूल्य प्रतिकित्ता क्रमशः १६६० रुपैयाँ र ४९८ रुपैयाँ रहेको छ। कम्पनीले पछिल्लोपटक बोनस २५ प्रतिशत र नगद २ प्रतिशत वितरण गरेको थियो। 

प्राविधिक पक्ष

बोलिंगर ब्यान्डमार्फत यो कम्पनीलाई हेर्दा कम्पनीको सेयर मूल्य साइड वेजमा चेलेको देखिन्छ। मूल्यरेखाहरुले तल्लो ब्यान्डमा छोएर सपोर्ट लिएको देखिन्छ। म्याक्डीमा पनि हिस्टोग्राम छोटा–छोटा भएका छन् तर बुलिस क्रसओभर हुन सकेका छनन्। आरएसआई लामो समयदेखि ४२ को विन्दुमा सपोर्ट लिएको छ। यो कम्पनीको मूल्यमा पनि मध्य ब्यान्डलाई ब्रेक गरेमा माथिको यात्रा तय गर्न सक्छ।

निष्कर्ष

प्राविधिक रुपमा ४ वटै कम्पनीलाई हेर्दा आरएसआईमा सबैभन्दा न्यून विन्दु अर्थात ओभरसोल्ड जोनमा नेपाल लाइफको सेयर देखिन्छ। यदि आगामी दिनमा बढोत्तरी आएमा अन्य कम्पनीहरुभन्दा छिटो बढोत्तरी नेपाल लाइफ हुन सक्ने देखिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस होइन।