काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’ सार्वजनिक गरेको छ।  

आज चैत ९ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच उक्त योजना सार्वजनिक गरिएको हो। कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्त बीमा योजनाको सार्वजनिक अनावरण गरे। 

आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्था सम्म पनि आफू आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’ सार्वजनिक गरेको हो। ‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरिएको हो। 

एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बीमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा (मुनाफामा सरिक हुने) हो। जसमा बीमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्ष रहने तथा न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्षदेखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि ३५ वर्र्षसम्म हुनेछ। यो योजनाको न्यूनतम बीमांक रकम रु. २५ हजार तथा अधिकतम बीमांक रकम आयस्रोतका आधारमा निर्धारण गर्न सकिनेछ। 

यो योजनाले न्यून बीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ। यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधिभर बचत गर्न प्रोत्साहन गर्दछ। यस योजनाले तपाइँको अवकाशपछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ। यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन्। जसमध्ये आफ्नो इच्छा र आवश्यकताअनुरुप बीमितले कुनै एउटामात्र विकल्पको छनोट गर्न सक्दछ। 

विकल्प १ अन्तर्गत बीमालेख परिपक्व भएमा बीमा अवधि समाप्तिमा बीमांक रकम + आर्जित बोनश, एकमुष्ट दिइनेछ भने विकल्प २ अन्तर्गत बीमा भुक्तानी अवधि समाप्तिमा बीमालेखमा उल्लेख भएको बीमांक रकम दिइनेछ र भुक्तानी अवधि समाप्तिपछि प्रत्येक वर्ष  बीमांकको ५% रकम बीमितको उमेर ७९ वर्ष नपुगन्जेलसम्म बीमितलाई प्रदान गरिन्छ। 

यसका साथै बीमित ८० वर्ष पूरा भएपछि बीमाशुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस बीमितलाई प्रदान गरिनेछ। 

बीमालेख चालु रही बीमा भुक्तानी अवधिभित्र जुनसुकै कारणबाट (बीमालेखअन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा विकल्प १ अन्तर्गत बीमांक रकम + आर्जित बोनश एकमुष्ट दिइनेछ भने विकल्प २ अन्तर्गत बीमितको मृत्यु भएमा बीमांक रकम + आर्जित बोनश एकमुष्ट दिइने छ तर भुक्तानी अवधि समाप्तिपछि मृत्यु भएमा बीमांकको ५०% रकम + बीमाशुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइनेछ।

विकल्प १ र विकल्प २ दुवैमा ऋण तथा समर्पण सुविधा रहेको छ। वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ भने वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात समर्पण मूल्यको ९०% ऋण प्राप्त गर्न सकिनेछ। दुर्घटना मृत्यु लाभ सुविधा (एडीबी), बीमाशुल्क छुट तथा पूर्णअशक्तता सुविधा (पीटीडी÷पीडब्ल्यूबी), घातक रोग सुविधाजस्ता ऐच्छिक सुविधाहरुसमेत उपलब्ध रहेको छ। 

कार्यक्रममा यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए। यस योजनालाई मूर्तरुप प्रदान गर्न सहयोग गर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरण, याचुरी तथा यसलाई साकार पार्न अहोरात्र खट्ने सबैलाई बधाइ ज्ञापन गरे। 

यो योजना सबै सरोकारवालाहरुको हितमा रहेको र यसको फाइदा उठाउन सबैमा कयालले आग्रह गरे। आमग्राहकको आजको आवश्यकतालाई मध्यनजर गर्दै योजना सार्वजनिक गरिएको कुरा उनले बताए। यस योजनाको सफलताको शुभकामनासमेत उनले कामना गरे। 

कार्यक्रममा यस योजनासँग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले गरेका थिए। 

‘किनकि जीवन अमूल्य’ छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्षदेखि नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पुस मसान्तसम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र सेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ। कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन्। 

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल करिब १९७ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। यसका साथसाथै कम्पनीले हालसम्म रु. १९७.१८ अर्ब बीमा शुल्क आर्जन गरेको छ। 

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ। ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।