काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ को बोनस सेयरका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य बुधबार समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१ प्रतिशत बोनस सेयरका लागि नेपाल लाइफको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ हजार १९२ रुपैयाँ कायम भएको छ। यसअघि यसको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २ हजार ८७२ रुपैयाँ कायम भएको थियो। 

अब समायोजित मूल्यअनुसार नै नेपाल लाइफको सेयर कारोबारमा आउने छ।

उक्त आर्थिक वर्षका लागि नेपाल लाइफले कुल ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३१ प्रतिशत बोनस सेयर र बाँकी २० प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले यही माघ २८ गते २० औँ वार्षिक साधारणसभा डाकेको छ। सोही सभाले १ सेयरलाई २ सेयरमा खण्डीकरण गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आज माघ १४ गतेदेखि माघ २६ गतेसम्म बुक क्लोज गरेको छ। यसको अर्थ हिजो माघ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश पाउन योग्य भएका छन्।