काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ अर्ब ९५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३५.४९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १८ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय ३३.४० प्रतिशतले बढेर ५ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आय ४ अर्ब १० करोड रुपैयाँ रहेको थियो। 

यो अवधिमा कम्पनीले ७ अर्ब २९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४०.५२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब १९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च १०.९७ प्रतिशत बढेर ८५ करोड ५७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ७७ करोड ११ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढाएर १ खर्ब ७ अर्ब रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यस्तो कोषमा ८१ अर्ब ३७ करोड रुपैयाँमा सीमित थियो। गत वर्षको यही अवधिसम्म २ अर्ब ७३ करोड रुपैयाँको जगेडा तथा कोषको आकार घटेर १ अर्ब १२ करोड रुपैयाँमा झरेको छ। त्यस्तै ४७ करोड ५७ लाख रुपैयाँ रहेको महाविपत्ति कोष बढेर ५९ करोड ८९ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

तेस्रो त्रैमासमा कम्पनीको नाफा ८.३६ प्रतिशतले बढेर ५० करोड ६६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा ४६ करोड ७५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कुल कायम बीमालेखको संख्या १३ लाख ७० हजार १३६ पुगेको छ। गत वर्ष यही अवधिमा यो संख्या १२ लाख ८० हजार ३१० रहेको थियो।

चुक्तापुँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ९.३८ रुपैयाँ रहेको छ। पीई रेसियो २२५.०९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.९२ रुपैयाँ रहेको छ।