सुरुमै एउटा सन्दर्भ जोड्न चाहें,
मदन बहादुर : हरि बहादुर खै त अनलाईन ट्रेडिङ कहिले आउँछ?
हरि बहादुर: आउँछ, छिट्टै आउँछ।
मदन बहादुर : सँधै आउँछ आउँछ भनेर लगानीकर्ता झुक्याउने काम मात्र गर्ने ?
हरि बहादुर : भन्ने बित्तिकै हुन्छ ? आउँछ नि बिस्तारै, अस्ती भर्खर त सेमी अनलाईन आयो अब मोक सुरु हुँदैछ।
मदन बहादुर: जेष्टमा आउँछ भन्यौ आएन , श्रावण १ बाट भन्यौ आएन , दशैं अगाडीनै अनलाईन उपहार भन्यौ आएन अब फेरी २ महिना पछाडी धकेलियो पो भन्छ बा ......
हरि बहादुर : के?
मदन बहादुर: अनलाईन 
हरि बहादुर: हेहे...कुन अनलाईन? 

अनलाईन ट्रेडिङको बिषयले बेलाबेलामा ठ्याक्कै मदन बहादुर हरि बहादुरको कथाको झल्को दिन्छ। साउदज्यु यहाँको कार्यकालको २५ प्रतिशत समयले नेटो काटिसकेको छ। त्यसमा पनि लामो  समय बर्खास्ती र थमौतीमै खेर गएको छ। यहाँको हालसम्मको कार्यकालमा बिकास बैंक/ लघुबित्त र  जिवन/निर्जिवन बिमाको उपसुचक छुट्टाउने बाहेक कुनै काम देख्न सकिएन । देखिएको यो एउटा कामको पनि कुनै औचित्य भने देखिन्न, कारण मिटर भित्रै गडबडी छ बाहिर पुछ्पाछ मात्र गरेर टल्काउनुको के नै अर्थ रहन्छ र। 

यहाँले बारम्बार अनलाईन ट्रेडिङको भाका सारिरहँदा ऋण लिएको आसामीले साहुलाई ऋण तिर्न नचाहेर भाका थपेको भान हुन्छ भने समय समयमा आफु सही देखाउन ब्रोकरको थाप्लोमा दोश थुपारेको देख्दा नाच्न नजान्ने आँगन टेढो भन्ने उखान यहिंनेर आएर चरीतार्थ भएझैं लाग्छ । अहिले फेरी तपाईं क्लाउड होस्टिङ लाई दोष देखाएर लगानिकर्तालाई बादल भित्र धकेल्न खोज्दै हुनुहुन्छ। 

तपाईंसँग श्रोत छ, साधन छ, अनलाईन कारोबारको लागी भनेर करोडौं रुपैयाँ खर्च भैसकेको छ, तर ईच्छा शक्तीको भने खडेरीनै देखियो। सबै थोक भएर ईच्छा शक्ती नहुनु भनेको बिदेश जानको लागी सबै प्रकृया पुरा भैसक्यो, मात्र भिसा लाग्न बाँकी छ भनेझैं हो। 

हिजो पनि पत्रकार सम्मेलन गरेर भन्नुभयो, "अनलाइन ट्रेडिङ सुरु हुन्छ कि हुदैन भन्ने दुविधामा नरहनुहोस्, अबको २ महिना पछिदेखि सेयरको अनलाइन ट्रेडिङ लाइभ सुरु हुन्छ!"

यहाँले पटक पटक २ महिनाको म्याद थप्दै आएको देख्दा लाग्छ २ नम्बरसँग यहाँलाई ठुलो मोह छ । कृपया २ नम्बरसँग जत्तीसक्यो चाँडो मोह भंग गरी हाल्नुस्, यसै पनि "२ नम्बर" लाई नराम्रोनै मानिन्छ। 

एउटा भनाईनै छ नि "Well begun is half done", दोष यहाँलाई मात्र थुपार्न चाहन्न , सुरुवातमै समस्या  थियो। कुनै पनि काम गर्दा राम्रो कार्य योजना (Action Plan) बनाएर सुरु गर्नुपर्ने हुन्छ तर अनलाईन ट्रेडिङ सम्बन्धमा सुरुदेखी अहिलेसम्मको गतिबिधी हेर्दा सबै पशुपती नाथ भरोसेनै चलिरहेको भान हुन्छ। 

अहिलेसम्म तपाईंबाट कुनै कामनै नभएको भनेर म भन्दिन, काम भएको होला तर यहाँले बारम्बार जिब्रो फेरीरहँदा भने कता कता शंका पैदा हुँदोरहेछ। तपाईं जहाजको क्याप्टेन भएको हुँदा जहाज  गन्तब्यसम्म पुर्‍याउने वा बिचमै डुबाउने तपाईंकै हातमा छ। आशा छ सेयर बजारको ईतिहासको एउटा पानामा सुनौलो अक्षरबाट आफ्नो नाम लेखाउन पाएको यो मौकालाई तपाईंले अवश्य पनि चुकाउनु हुनेछैन। 

अन्त्यमा,
अनलाईन ट्रेडिङ लागु हुनु भन्दा अगाडी यहाँलाई यो नै मेरो अन्तिम पत्र बनोस्,फेरी २ महिना पछी अर्को पत्र कोर्नु  नपरोस् भन्ने कामना गर्दै बिदा हुन्छु।

पुँजिबजारको भलो चाहने एक साधारण लगानिकर्ता
-रोहन शर्मा 

(रोहन शर्माको ब्लगबाट जस्ताको तस्तै साभार)