काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबार १५ अर्ब रुपैयाँको रिपर्चेज एग्रिमेन्ट (रिपो) जारी गर्न लागेको छ । 

नेपाल राष्ट्र बैंकले दिउँसो ३ बजे बोलकबोल गरेर रिपो जारी गर्न लागेको हो। रिपोमा क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक र ग वर्गका फाइनान्स कम्पनीहरुले आवेदन गर्न सक्नेछन्।  

रिपोको ब्याजदर पाँच प्रतिशत तोकिएको छ । ५ प्रतिशतभन्दा कम ब्याजदर अंकित गरी गरिएको आवेदनलाई नेपाल राष्ट्र बैंकले मान्यता दिने छैन । 
रिपो असार सात दिनपछि असार १९ गते म्याचुअर हुनेछ । 

बैंक तथा वित्तीय संस्थाहरुमा बैंकिङ्ग प्रणालीमा तरलता रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । यस्तै अधिक रकम भएमा रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्दछ ।

के हो रिपो र रिभर्स रिपो ?

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाहका लागि प्रयोग हुने उपकरण “रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको  केन्द्रीय बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिका लागि तरलता प्रवाह हुन जान्छ ।

बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ । रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नुअघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको टे«जरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ । 

यसैबीच, बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको केन्द्रीय बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ ।

बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ । 

रिपो तथा रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन इच्छुक संस्था र केन्द्रीय बैंक बीच अनिवार्य रूपमा मास्टर रिपर्चेज एग्रीमेण्ट भएको हुनुपर्दछ । अन्यथा रिपो र रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन पाइँदैन ।