काठमाण्डौ । नेपाल इन्स्योरेन्सले घोषणा गरेको ७.५ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ वितरण गर्ने भनिएको नगद लाभांश बिमा समितिले रोकेको छ । 

बोनस सेयरको कर प्रयोजनका लागि वितरण गर्ने भनिएको नगद लाभांश बिमा समितिले रोकेसँगै नेपाल इन्स्योरेन्सको बोनस पाउने सेयरधनीले कर भने आफैंले तिर्नुपर्ने भएको छ । 

यो कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७४/७५ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४० लाख २२ हजार ७७८ रुपैयाँ नगद लाभांश वितरणको निर्णय गरेको थियो । 

सोही निर्णय स्वीकृतिका लागि बिमा समितिमा पठाइएकोमा समितिले नगद लाभांश भने वितरण गर्न नमिल्ने भन्दै फिर्ता पठाइदिएको नेपाल इन्स्योरेन्सले प्रष्ट्याएको छ । 

बिमा समितिबाट अस्वीकृत भएपछि यो कम्पनीको असार २७ गते बसेको संचालक समिति बैठकले कर प्रयोजनका लागि विनियोजित नगद लाभांश रकम वितरण नगर्ने निर्णय गरेको हो ।