काठमाण्डौ । महिला उद्यमी व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपाल उद्योग परिसंघ र सनराइज बैंक लिमिटेडबीच नेपाल उद्योग परिसंघमा एक समझदारी–पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

समझदारी पत्रमा हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सगम्र औद्योगिक विकासमा महिलाहरुको लगानी र दक्षता विकास गर्न परिसंघले लिने पहलमा सनराइज बैंकसँगको सहकार्य फलदायी हुने विश्वास व्यक्त गरे । सोही अवसरमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले परिसंघसँगको सहकार्यले महिला उद्यमीहरुलाई उद्योग तथा व्यवसाय विस्तारमा सहज व्यवस्था मिलाउन बैंकले हरदम प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । 

यस सम्झौतापश्चात् परिसंघमा आवद्ध सम्पूर्ण उद्यमी÷महिला सदस्यहरुको उद्यमशिलता विकास, सोका लागि आवश्यक सल्लाह र ब्याज अनुदानकर्जा लगानी सम्बन्धमा दुवै पक्ष सहमत भएको छ । समझदारीअनुसार सनराइज बैंकले महिला उद्यमीहरुका लागि रु. पन्ध्र लाखसम्मको सहुलियतपूर्ण कर्जा स्वीकृत ब्याजदरमा ६% सम्मको छुट प्रदान गर्ने छ । 

साथै, परिसंघमा आवद्ध साना तथा मझौला उद्यमीहरुलाई सनराइज बैंकले सरल रुपमा कर्जा लिने प्रक्रिया, सहुलियतपूर्र्ण कर्जा, कर्जा उपभोग गर्दाको फाईदा जस्ता कर्जासँग सम्बन्धित जानकारीमुलक तालिमलगायतका कार्यक्रमहरु सञ्चालन गरिने समझदारी भएको छ ।

समझदारी–पत्रमा सनराइज बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल तथा परिसंघका तर्फबाट महानिर्देशक  मेघनाथ न्यौपानेले हस्ताक्षर गरे ।