काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले प्राप्ति गर्न लागेको सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको सेयर कारोबार सोमबारदेखि रोक्का गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सबीच प्राप्ति (एक्विजिसन) गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको पत्र आज सोमबार प्राप्त भएकोले सिटी एक्सप्रेसको सेयर कारोबार रोक्का गरिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

ससाना फाइनान्स प्राप्ति गरिरहेको नेपाल इन्भेस्टमेन्ट बैंकले पछिल्लोपटक सिटी एक्सप्रेसलाई प्राप्ति गर्न लागेको हो । यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई १००ः३३ कित्ता अनुपातमा प्राप्ति गरेको थियो ।

जेविल्स फाइनान्सलाई प्राप्ति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको पूँजीको आकार निकै मजबुत छ । यो बैंकका अन्य सूचक समेत बलिया छन् । बलियो बैंक भएकै कारण नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बिग मर्जर’मा खासै चासो दिएको छैन ।

यो बैंकले ठूला बैंक९वाणिज्य० बैंकसँग मर्जर नगर्ने, बरु ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर पूँजीको आकार ठूलो बनाउने रणनीति बनाएको छ । यहीकारण यो बैंक राम्रो वित्तीय अवस्था भएका र शाखा सञ्जाल पनि राम्रो भएको क्षेत्रीय बैंकतर्फ आँखा दौडाइरहेको छ ।

प्राप्तिको माध्यमबाट समेत आफ्नो कमजोर शाखा सञ्जाललाई केही बलियो बनाउन सकिन्छ कि भन्ने दाउ यो बैंकले हेरिरहेको छ ।