काठमाण्डौ । नेपाल प्रहरीको प्राविधिक तथा जनपद समूहमा एकैपटक ठूलो संख्यामा दरखास्त आह्वान गरिएको छ ।

नेपाल प्रहरीको प्राविधिक समूहतर्फ विभिन्न क्षेत्रमा १ हजार ७२ प्रहरी जवान र जनपदतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) १४९ र प्रहरी सहायक निरीक्षक (असई) ५८४ पदमा दरखास्ता आह्वान गरिएको हो ।

प्राविधिक समूहतर्फ सञ्चार निर्देशनालमा इन्जिनियरिङ उपसमूहमा ६११, नेपाल प्रहरी संगीत विद्यालयतर्फ १४४ जना र सवारी महाशाखातर्फ प्रहरी जवान पदमा दरखास्त खुलाइएको छ ।

यसैगरी सूचीना प्रविधिक निर्देशनालयतर्फ ४३, भौतिक पूर्वाधार निर्देशनालयतर्फ ६३, केनाइन महाशाखातर्फ ५३, हातहतियार मर्मत शाखातर्फ ६, नेपाल प्रहरी अस्पतालतर्फ १९ र केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालातर्फ ७ जना प्रहरी जवान माग गरिएको छ ।

यी सबै पदका लागि खुला, अमर÷अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ ।

प्रहरी जवान पदका दरखास्त फाराम र बुझाउने स्थानहरुमा १ नं. प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज, ३ नं. प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, ५ नं. प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज), सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, महानगरीय प्रहरी परिसर काठमाण्डौ, महानगरी प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी परिसर ललितपुर र सबै जिल्ला प्रहरी कार्यालयहरु तोकिएका छन् । 

प्रहरी जवान पदका लागि १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको र बहालवालाको हकमा २५ वर्ष ननाघेको हुनुपर्नेछ । यो पदका लागि विभिन्न क्षेत्रअनुसार कम्तीमा ८ कक्षा उत्तीर्णदेखि एसईई वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ । 

यसैगरी जनपदतर्फको प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा पनि खुला, अमर÷अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्रका लागि कोटा निर्धारण गरिएको छ । 

यी दुवै पदका लागि फाराम पाइने र बुझाउने स्थानहरुमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौ, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौँडा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय दाङ, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपालय तोकिएका छन् ।

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्नेछ भने सेवारत प्रहरी कर्मचारीको हकमा ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ भने सेवारत कर्मचारीका हअकमा ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

प्रहरीजवान, प्रहरी सहायक निरीक्षक र प्रहरी निरीक्षक पदका लागि दरखास्त बुझाउने मिति यही माघ ५ गतेदेखि खुला गरिनेछ भने दरखास्त फागुन ११ गतेसम्म बुझाइसक्नुपर्नेछ ।

यससम्बन्धी थप जानकारी नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत हेर्न सकिनेछ ।