काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामै करिब १४ अर्ब बिमा शुल्क आर्जन गरेको छ । 

कम्पनीले समीक्षा अवधिमा १३ अर्ब ९१ करोड बढी बिमा शुल्क आर्जन गरेको हो । अघिल्लो वर्षको यही तुलनामा कम्पनीले १० अर्ब ४७  करोड मात्र बिमा शुल्क आर्जन गरेको थियो । यसरी कम्पनीले बिमा शुल्क आर्जनमा ३२.७९ प्रतिशतको छलाङ मारेको देखिएको छ ।  

कम्पनीका अन्य आम्दानीहरु पनि बढेका छन् । पुनर्बिमा कमिसनबाट हुने आय १ करोड ५१ लाखबाट बढेर २ करोड ७ लाख पुगेको छ भने लगानी, कर्जा तथा अन्यबाट हुने आय २ अर्ब १८ करोडबाट बढेर २ अर्ब ७६ करोडको उचाईमा पुगेको छ । 

बिमालेखको धितोमा कर्जाबाट हुने आय अघिल्लो वर्ष ४९ करोड ९४ लाख रहेकोमा बढेर यो वर्ष ७६ करोड ८१ लाख माथि पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब १४ करोड बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५ अर्ब २० करोड दाबी भुक्तानी गर्नु परेको थियो । 

यो अवधिमा कम्पनीको खूद नाफा ३५ करोड माथि पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा २८ करोडमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार झनै बढेको छ । अघिल्लो वर्ष यही अवधिमा ५६ अर्ब ७३ करोडमा सीमित कोषको आकार बढी ७७ अर्ब ५९ करोडको उचाईमा पुगेको छ । जीवन बिमा कोषको आकारमा ३६.७५ प्रतिशतको बढोत्तरी भएको यो तथ्याङ्कले देखाउँछ । 

जगेडा तथा कोषको आकार ३ अर्ब ७३ करोडबाट केही घटी २ अर्ब ६१ करोडमा सीमित भएको छ । 

महाविपत्ति कोष जगेडाको आकार ३७ करोड ११ लाखबाट बढेर ४७ करोड ५७ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिसम्ममा कम्पनीमा बिमालेखको संख्या १२ लाख ५८ हजार  ५११ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा १२ लाख ९ हजार ७२० मात्र थियो । 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १२.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.२४ रुपैयाँ, पीई अनुपात ७८.३१ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६२४ रुपैयाँ तथा औसत प्रतिफल दर १०.३९ प्रतिशत रहेको छ ।