काठमाण्डौ । नेपाल बैंक लिमीटेडले स्वीकृति २३.७४ प्रतिशत हकप्रदका लागि चैत २९ गतेलाई बुक क्लोजको मिति तोकेको छ ।

यो बैंकलाई धितोपत्र बोर्डले चैत १५ गते १०० बराबर २३.७४ का दरले हकप्रद निश्कासनको अनुमति दिएको थियो । 

नेपाल बैंक लिमीटेडले सोमबार नेपाल स्टक एक्सचेञ्जमा एक सूचना प्रकाशित गरी कम्पनीको बोर्ड बैठकले चैत २९ लाई बुक क्लोजको मिति तोक्ने निर्णय गरेको बताएको हो । यसको अर्थ चैत २८ गतेभित्र यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरु मात्र घोषित हकप्रद पाउन योग्य हुनेछन् । 

२०७३ जेठ २८ गते सम्पन्न नेपाल बैंकको ५६ औं वार्षिक साधारणसभाले २३.७४ प्रतिशत हुन आउने गरी कुल १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । 

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेकोछ । हकप्रद निश्कासनपछि ८ अर्ब ४ करोडको उचाईमा पुुग्नेछ ।