काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको संस्थापक सेयर लिलामीमार्फत बेच्ने भएको छ। 

इन्स्योरेन्सले बैंकमा रहेको ५ लाख कित्ता संस्थापक सेयर आउँदो असोज २ गतेबाट लिलामीमार्फत बेच्न लागेको हो। लिलामीमा राखिएको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले कात्तिक ६ गते (बैंकिङ समयसम्म) मा गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।

सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सेयर संख्यामा कुनै हद नलाग्ने जनाइएको छ।

लगानीकर्ताहरुले बोलपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र कात्तिक २० गते अपराह्न ३ बजे एनआईबीएल एस क्यापिटलमा खोलिनेछ।