काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको भन्दा केही कम हो । 

अघिल्लो वर्षको यही अवधिमा बैंकले ५८ करोड १८ लाख बढी खूद नाफा आर्जन गरेको थियो । 

खूद नाफा घटे पनि बैंकको संचालन नाफा भने बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ६१ करोड रहेको संचालन मुनाफा बढेर समीक्षा अवधिमा ७७ करोड ८९ लाख पुगेको छ । 

पहिलो त्रैमासका लागि बैंकको बाँड्न मिल्ने नाफा चाहिँ १९ करोड ६४ लाखमा सीमित भएको छ । 

यो बैंकको सेयर प्रिमियम १ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । वितरणयोग्य मुनाफा र प्रिमियममा रहेको रकमबाट समेत लगानीकर्तालाई लाभांश बाँड्न पाइन्छ । 

समीक्षा अवधिमा बैंकले व्यवसाय बिस्तार गरेका कारण खूद ब्याज आम्दानी १ अर्ब ४८ करोडको उचाई चुमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी १ अर्ब ३२ करोडमा सीमित थियो । 

बैंकको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २.७५ प्रतिशत रहेकोमा खराब कर्जाको अनुपात बढेर यो वर्षको सोही अवधिमा ३.०२ प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा बैंकको बेस रेट ६.८१ प्रतिशत, सीडी रेसियो ६६.५४ प्रतिशत, कस्ट अफ फण्ड ३.९७ प्रतिशत रहेको छ । 

यो अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १९.५१ रुपैयाँमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको इपीएस २४ रुपैयाँ हाराहारीमा रहेको थियो । 

समीक्षा अवधिमा बैंकको पीई रेसियो १६.६० गुणा, तरलता अनुपात ३०.८७ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.१३ प्रतिशत र प्रतिसेयर नेटवर्थ रु.२७३.४९ कायम भएको छ ।