काठमाण्डौ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा प्रतिस्पर्धी सबै पुरुष उम्मेद्वारहरुलाई पछार्दै कामिनी राजभण्डारीले इतिहास रचेकी छिन् । 

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले टेलिकममा वरिष्ठ नायव प्रबन्ध निर्देशकको रुपमा कार्यरत राजभण्डारीलाई अन्तिम तीन नामबाट छनौट गरेको हो । 

टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएपछि कामिनीले दूरसंचार सेवा प्रदायक कम्पनीको क्षेत्रमै नयाँ इतिहास रच्न सफल भएकी छिन् । उनी नेपाल टेलिकम वा अन्य कुनै दूरसंचार सेवा प्रदायक कम्पनीको व्यवस्थापन तहको नेतृत्व गर्ने पदमा पुगेकी पहिलो महिला बनेकी छिन् । 

नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशकका लागि तत्कालीन प्रबन्ध निर्देशक बुद्धि आचार्यसहित १३ प्र्रतिस्पर्धीले आवेदन दिएका थिए । आवेदकमा राजभण्डारी एक्ली महिला उम्मेद्वार थिइन । १३ उम्मेद्वारमध्ये पहिलो चरणमा ६ जनाको नाम छनौट गरिएको थियो ।

संचार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित समितिले ६ बाट अन्तिम ३ नामको रुपमा सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो । 

सिफारिस ३ नामबाट मन्त्रीपरिषदले कामिनीलाई नियुक्त गर्ने निर्णय गरेको हो । अन्तिम तीन प्रतिस्पर्धीमा पोखरेल नेपाल टेलिकमकै प्रबन्धक हुन् भने खरेल नेपाल वायु सेवा निगमका पूर्व महाप्रबन्धक हुन् ।