काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकको आज बिहीबार सम्पन्न ३४ औँ वार्षिक साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश पारित भएको छ। 

सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा भिडियो कन्फरेन्समार्फत भएको थियो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १८.५ प्रतिशत लाभांश पारित गरेको हो। जसमा १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश रहेका छन्।

सोही सभाले प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गरी अधिकृत पुँजी वृद्धि गरी १८ अर्ब पुर्याउने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ।

सभाले मर्जर तथा प्राप्तिका लागि उपयुक्त अन्य बैंक तथा वित्तीय संस्था पहिचान गरी आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न गराउनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ।