काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९४ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

मंगलबार सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको यो खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १६.५२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकको वितरणयोग्य मुनाफा ४६ करोड ७ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १८.८९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब १२ करोड रुपैयाँमात्र थियो।

बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ थियो।

बैंकले यो अवधिमा ७० अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ६६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकको रिजर्भको आकार १८.९० प्रतिशतले बढेर ४ अर्ब ४६ करोड रुपैयाँको बनेको छ। गत वर्ष यही अवधिमा बैंकको रिजर्भमा ३ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।

बैंकको खराब कर्जा दर १.९२ प्रतिशतबाट बढेर २.३७ प्रतिशत पुगेको छ। आधार दर ८ प्रतिशतमा घटेको छ। सीसीडी ७१.३२ प्रतिशत रहेको छ।

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.०२ रुपैयाँबाट बढेर २२.१६ रुपैयाँ पुगेको छ। पीई रेसियो १२.७३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६५.५० रुपैयाँ रहेको छ।