काठमाण्डौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो महाधिवेशन आउँदो चैत ७ गते हुने भएको छ। 

महासंघको महाधिवेशन काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए। 

महाधिवेशन उद्घाटनको भोलिपल्ट अर्थात चैत ८ गते निर्वाचन कार्यक्रम रहेको छ। सोही निर्वाचनले महासंघको भावी नेतृत्वसमेत चयन गर्नेछ। 

निजी क्षेत्रको छाता संगठनका रुपमा रहेको महासंघले साना तथा मझौला उद्योगीव्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको छ। कोरोनाकाल महामारीमा मारमा परेका उद्योगी तथा व्यवसायीहरुको सहजताका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका ऋणको ब्याजदर तथा घरबहालका विषयमा देखिएका समस्या समाधान गर्न पनि महासंघले नेतृत्वदायी भूमिका खेलेको थियो।