काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १३ गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तावत गरिएको लाभांश अनुमोदन गर्नेछ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता ४० रुपैयाँका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ।

सभाले कम्पनीको नियमावलीमा भएको व्यवस्थाअनुसार कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुका लागि तर्फबाट प्रतिनिधि गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकलगायत प्रतिवेदन छलफल गरी पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २६ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। किनकि फागुन २७ गते महाशिवरात्री परेको छ। यो दिन सार्वजनिक बिदा दिइएको छ।