काठमाण्डौ । नेपाल बैंक लिमीटेडले आफ्नो स्वामित्वमा रहेको डिप्रोक्स लघुवित्त विकास बैंक लिमीटेडको १ लाख ८० हजार ३ सय ७८ कित्ता सेयर आजदेखि बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । 

बैंकले एक सूचना प्रकाशन गर्दै डिप्रोक्सको सर्वसाधारण समूहतर्फको सेयर प्रति कित्ता १ हजार २ सय नघट्ने गरी शिलबन्दी बोलपत्र आह्वान गरेको हो । दोश्रो बजारमा यो कम्पनीको अन्तिम बिक्री मूल्य प्रतिकित्ता १ हजार ४ सय १५ रुपैयाँ रहेको छ । 

इच्छुक लगानीकर्ताले भदौ १५ देखि असोज ४ गतेसम्म तोकिएको स्थानमा आवेदन दिनुपर्ने सेयर लिलामी तथा बिक्री प्रबन्धकको काम गरिरहेको सिद्धार्थ क्यापिटल लिमीटेडले जनाएको छ ।

सेयरको खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ सय कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण १ लाख ८० हजार ३ सय ७८ कित्ताका लागि आवेदन दिन सकिने बताइएको छ । 

डिप्रोक्सको सेयर खरीदका लागि परेको बोलपत्र असोज ४ गते अपरान्ह सिद्धार्थ क्यापिटल लिमीटेडको नारायणचौर(नक्साल) काठमाण्डौमा दर्ता गर्न सकिने बताइएको छ ।  

इच्छुक लगानीकर्ताले सिद्धार्थ क्यापिटलको मुख्य कार्यालयमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।