काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभाबाट पारित गरिसकेको सेयर खण्डीकरण(स्टक स्प्लीट) सम्बन्धी निर्णय लागू नहुने देखिएको छ । 

नेपाल लाइफको सेयर खण्डीकरण सम्बन्धी प्रस्तावलाई कार्यान्वयन आउन नदिन नियामक बीमा समिति सक्रिय बनेको हो । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सेयर खण्डीकरण गरी मूल्य बढाउन खोजिएको निश्कर्ष निकाल्दै समितिले सो सम्बन्धी निर्णय कार्यान्वयनमा नल्याउँदा उपयुक्त हुने सुझाव पूँजीबजारको नियामक धितोपत्र बोर्डलाई सुझाएको छ । 

'हामीले बोर्डलाई मूल्यमा चलखेल गर्नलाई सेयर खण्डीकरणको प्रस्ताव आएको भन्दै सो निर्णय कार्यान्वयनमा ल्याउन नहुने सुझावसहित पत्र लेखेका छौं ।' पौडेलले बिजशालासँग भने-'बीमा कम्पनीको नियामक बीमा समिति भएकोले हाम्रो सहमतिबिना नेपाल लाइफले सेयर खण्डीकरणको निर्णय कार्यान्वयन गराउन पाउदैन ।' 

धितोपत्र बोर्ड स्रोतले बीमा समितिबाट सेयर खण्डीकरण गर्न नहुने रायसहितको प्रस्ताव आएको र सो सम्बन्धमा आवश्यक अध्ययन भइरहेको बताएको छ । 

गत माघ २८ गते वीरगञ्जमा आयोजना गरिएको नेपाल लाइफको २० औं वार्षिक साधारणसभाले स्टक स्प्लिट सम्बन्धी प्रस्ताव पारित गरेको थियो । 

यो प्रस्ताव धितोपत्र बोर्ड र कम्पनी रजिष्टारको कार्यालयबाट समेत स्वीकृत हुनुपर्छ । बीमा समितिले नै यो अजेण्डा कार्यान्वयनमा आउन नदिइने बताएपछि सेयर खण्डीकरणका लागि नेपाल लाइफको यो दोश्रो प्रयास पनि असफल हुने देखिएको छ । 

यो प्रस्ताव स्वीकृत हुन्थ्यो भने नेपाल लाइफको सेयरको अंकित मूल्य रु. १०० को ठाउँमा रु. ५० कायम हुन्थ्यो भने हाल सेयरधनीसँग रहेको सेयर संख्या दोब्बर हुन्थ्यो । बजार मूल्य भने आधा हुन्थ्यो । 

सेयर स्प्लिट सम्बन्धी व्यवस्थामा प्रतिसेयर अंकित मूल्य आधाले घट्दा सेयर संख्या भने दोब्बर हुन्छ । उदाहरणका लागि यदि तपाईसँग नेपाल लाइफको १०० कित्ता सेयर छ भने यो व्यवस्था कार्यान्वयनमा आएपछि तपाईको सेयर संख्या बढेर २०० कित्ता पुग्छ ।

यो व्यवस्थाले सेयरधनीसँग भएको सम्पत्तिमा भने कुनै प्रभाव पार्दैन । अर्थात १०० कित्ता सेयर हुनेको संख्या बढेर २०० कित्ता पुगे पनि कुल सम्पत्ति भने यथावत रहन्छ ।