काठमाण्डौ । नेपाल बैंक लिमिटेडले निष्कासन गरेको ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज (वैशाख ३१ गते) अन्तिम दिन रहेको छ। 

बैंकले गत वैशाख २२ गतेबाट १० वर्षे अवधिको ‘८.५% नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ निष्कासन गरेको छ। यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक निष्कासन गरिएको हो। सार्वजनिक निष्कासन गरिएको १४ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ७० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार इकाइ बाँडफाँड गरी बाँकी १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ ऋणपुँजी रकमबराबरको इकाइमा सर्वसाधारणका लागि आवेदन खुला गरिएको छ। 

नेपाल बैंकको यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्मका लागि आवेदन दिन सकिनेछ। यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 

नेपाल धितोपत्र बोर्डले गत चैत १३ गते निष्कासन दिएको यस ऋणपत्रमा बैंकले लगानीकतर्नालाई वार्षिक ८.५ प्रतिशत ब्याज उपलब्ध गराउनेछ। ब्याजदरको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।