काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो सर्भर ह्याक नभएको र कुनै पनि डाटा चोरी नभएको स्पष्ट पारेको छ। 

गत असार २७ गते विभिन्न सञ्चारमाध्यममा नेपाल टेलिकमको सर्भर ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने समाचार प्रकाशन तथा प्रशारण भएको थियो। यसरी समाचार प्रकाशित भएपश्चात नेपाल टेलिकमले डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानबिन सुरु गरेको थियो । 

कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानबिनपश्चात कम्पनीको कुनै पनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनै पनि सत्यता नरहेको निष्कर्ष नेपाल टेलिकमले निकालेको छ। 

ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आएको नेपाल टेलिकमले जनाएको छ। आगामी दिनमा समेत ग्राहकका विवरण्रु सुरक्षित राख्नका लागि प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।