काठमाण्डौ । दोश्रो बजारमा सहजै प्रतिकित्ता १२६६ रुपैयाँमा कारोबार भइरहेको कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम १२०० रुपैयाँ मूल्य तोकिएको झञ्झटिलो लिलामी प्रक्रियामा किन सहभागी हुने ? अधिकांश लगानीकर्ताको यही ठम्याईका कारण नेपाल बैंक लिमीटेडले आफ्नो स्वामित्वमा रहेको डिप्रोक्स लघुवित्त विकास बैंकको ५१ ह्जार ७ सय ५८ कित्ता सेयर पुनः लिलामीमा राखेको छ । 

पहिलो लिलामीबाट सबै सेयर बिक्री नभएको अवस्थामा बैंकले भने पहिलाकै मूल्य तोकेर बोलपत्र आह्वान गरेको हो । दोश्रो बजारमा सहजै र लगभग उही मूल्यमा पाइने सेयरमा योपटक पनि लगानीकर्ताले मरिहत्ते गर्लान् भन्न सकिन्न । 

यसअघि डिप्रोक्सको १ लाख ८० हजार कित्ता सेयर लिलामीमा राखे पनि सबैमा बोलपत्र नपरेपछि पुनः लिलामी नभएको ५१ ह्जार ७ सय ५८ कित्ता सेयरका लागि बोलपत्र आह्वान गरेको हो । अधिकांश लगानीकर्ताले नेपाल बैंकले तोकेको प्रतिकित्ता १२०० रुपैयाँ भन्दा कमको दर तोक्दै बोलपत्र पेश गरेका थिए । नेपाल बैंकले तोकेको न्यूनतम मूल्यलाई लगानीकर्ताले अस्वीकार गरे पनि बैंकले भने पुनः त्यति नै मूल्य तोकेर लिलामी प्रक्रियामा सहभागिताका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । 

सिद्धार्थ क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गरिरहेको छ । 

अहिले खुलेको लिलामीमा आगामी असोज २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । असोज २४ गते बोलपत्रहरु खोलिने बताइएको छ । 

नेपाल बैंक लिमीटेडले नागरिक लगानी कोषमा आफ्नो स्वामित्वमा रहेको २ लाख ११ हजार कित्ता सेयर समेत लिलामी गर्दैछ । 

डिप्रोक्स लघुवित्तको दोश्रो बजारमा प्रति कित्ता सेयरको अन्तिम कारोबार मूल्य १२६६ रुपैयाँ रहेको छ ।