काठमाण्डौ । नेपाल पेमेन्ट सोलुसन्स प्रालिको ‘वान लिंक’ नामक पेमेन्ट सर्भिस पहिलोपटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ। 

यो सेवा सुचारु भएसँगै अब ग्राहकले विना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्नेछन्। यसलाई सरल भाषामा बुझ्दा सानादेखि ठूला ब्यापारीलगायत बिजनेस तथा कर्पोरेट हाउसहरुले ‘वान लिंक’ बाट आफ्ना ग्राहकलाई एसएमएस अथवा ई–मेल लगायत अन्य सञ्चारका माध्यमहरु जस्तै ह्वाट्सअप, भाइबर आदिको समेत उपयोग गरी पेमेन्ट लिंक पठाएर सजिलै पैसा उठाउन सक्ने भएकाले यसले रकम भुक्तानी तथा प्राप्त गर्ने प्रक्रियालाई अझ सहज बनाउँछ। यहाँ यसले एमबैंकिङसँगसँगै परम्परागत भुक्तानी प्रक्रियाको पनि अन्त्य गर्छ। 

परम्परागत भुक्तानी सेटअपमा फर्केर हेर्दा ग्राहकलाई म्यानुअल विवरणहरुमार्फत एउटै भुक्तानी माध्यम प्रयोगको विकल्प उपलव्ध गराइन्थ्यो। यद्यपि ‘वान लिंक’ मार्फत ग्राहकले नेपालमा उपलब्ध सबै भुक्तानी माध्यमजस्ता ई–बैंकिङ, एमबैंकिङ, आईपीएस कनेक्ट, कार्ड भुक्तानी र वालेट भुक्तानीहरूको  विकल्प पाउन सक्छन्।

अहिले सिद्धार्थ बैंकले सुरुमा क्रेडिट कार्डको बिल भुक्तानीका लागि यो सेवा सुरु गरे पनि पछि यसबाट ऋणको इएम्आई भुक्तानी गर्न मिल्ने सेवा पनि समेट्नेछ। समग्रमा यसले व्यक्ति, घरेलु, साना तथा मझौला र कर्पोरेट ग्राहकलाई पनि सशक्त बनाउँछ।

नेपाल पेमेन्ट सोलुसन्स एक भुक्तानी प्रणाली एग्रिगेटर हो। जसले विशेष गरी बैंक तथा वित्तीय संस्था, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यावसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ। 

नेपाल पेमेन्ट सोलुसन्सले अधिकांश क, ख र ग वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ। समग्रमा नेपाल पेमेन्ट सोलुसन्स एउटा फिन्टेक क्षेत्रमा नाम बनाइसकेको बलियो कम्पनी हो। जसले ४० भन्दा बढी बैंक, ५० भन्दा बढी रेमिट्यान्स कम्पनी र २० भन्दा बढी वालेटहरुलाई जोड्दै अघि बढिरहेको छ।