काठमाण्डौ । नेपाल मेडिसिटी अस्पतालका न्युरोसर्जन डा. सुमित जोशी नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसन)द्वारा उत्कृष्ट युवा न्युरोसर्जन अर्वाडबाट सम्मानित भएका छन्। 

मंसिर १० र ११ गते काठमाण्डौमा आयोजित नेसनको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा पेपर प्रस्तुत गरी उत्कृष्ट बन्न सफल भएका डा. जोशीले नेसनका अध्यक्ष डा. कृष्ण शर्मा र संस्थाका सचिब प्रा.डा. राजीब झाबाट रु. ५० हजारसहित उत्कृष्ट युवा न्युरोसर्जनको प्रमाणपत्र ग्रहण गरेका हुन्। 

न्युरोसर्जरीलाई सीमित क्षेत्रमा मात्र केन्द्रित नराखी यसका अनुभव र दक्षतालाई विस्तारित गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्युरोसर्जनहरुको प्रस्तुतीकरणका बीच डा. जोशीले उत्कृष्ट युवा न्युरोसर्जन अर्वाड प्राप्त गरेका हुन्। 

डा. जोशी नेपाल मेडिसिटीको न्युरोसर्जरी विभागअन्तर्गत न्युरोभास्कुलर, स्पाइन तथा स्कल बेस सर्जन हुन्।