काठमाण्डौ । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ। 

कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ। कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता सम्पन्न भएको छ। हिजो सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन्। 

फोरजी एलटीई नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल Individual Package र Government Institution Package गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ। Individual Package अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० जीबी ३० दिनका लागि उपलब्ध छ। त्यसैगरी १ वर्षका लागि रु. ९ हजारमा ७२० जीबी प्याक उपलब्ध छ। यसलाई प्रतिमहिना ६० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ। यी दुवैमा एड अन प्याकको रुपमा रु. ४०० मा १५ दिनका लागि ६० जीबी प्याक लिन सकिन्छ। 

होम ब्रोडब्यान्ड प्रिमियमअन्तर्गत रु. १ हजार २०० मा १२० जीबी प्याक ३० दिनका लागि उपलब्ध हुन्छ। त्यसैगरी १ वर्षका लागि रु. १३ हजार ५०० मा १ हजार ४४० जीबी प्याक उपलब्ध हुन्छ। यसलाई प्रतिमहिना १२० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ। यी दुवैमा एड अन प्याकका रुपमा रु. ६०० मा १५ दिनका लागि १२० जीबी प्याक लिन सकिन्छ। 

Government Institution Package मा रु. ३ हजार ६५० र रु. २ हजार १०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन्। यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ। वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ। 

फोरजी एलटीई नमस्ते वाईफाई सेवाको प्याकेज र यसको दर सम्बन्धमा विस्तृत जानकारी https://www.ntc.net.np/post/4g-wireless-home-broadband मा उपलब्ध छ। 

हाल देशका अधिकांश स्थानमा फोरजी सेवा पुगिसकेको र घरमा वा कार्यालयमा द्रुत गतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको संख्या वृद्धि हुँदै गरेकोले यो सेवा प्रभावकारी र आकर्षक हुने अपेक्षा गरिएको छ।