काठमाण्डौ । हकप्रद निष्कासनको तयारीमा रहेको नेपाल फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति गरेको छ। 

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)मा उल्लेख्य सुधार हुँदै १३.४९ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म ईपीएस ३.५४ रुपैयाँले ऋणात्मक रहेको थियो। 

यो अवधिसम्म बैंकको पीई रेसियो ५२.०३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२.३५ रुपैयाँ पुगेको छ। 

कम्पनीले खराब कर्जा (एनपीएल) सुधारमा पनि निकै प्रगति गरेको छ। गत वर्ष यही अवधिसम्म ४१.०७ प्रतिशत एनपीएललाई घटाएर समीक्षा अवधिसम्म १९.०३ प्रतिशतमा झार्न सफल भएको छ। 

समीक्षा अवधिसम्म कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३९ लाख ८ हजार घाटा व्यहोरेको थियो। 

यो अवधिसम्म कम्पनीले ३ करोड ७१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीलाई ६९ लाख ५७ हजार रुपैयाँ सञ्चालन घाटा भएको थियो।

कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष यही अवधिसम्म १९ लाख २१ हजार रुपैयाँमा सीमित थियो। यस कम्पनीको व्यापार आक्रामक ढंगले अगाडि बढिरहेको देखिन्छ। 

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ करोड २६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ६५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी २९ करोड २० लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ४९ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार केही घटेर ४८ करोड ८७ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ४९ करोड ६ लाख रुपैयाँ रहेको थियो।

नेपाल फाइनान्सले १ः०.७० अर्थात ७० प्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै गत कात्तिक १ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेमा यो फाइनान्सले ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि निष्कासन गर्नेछ।