काठमाण्डौ । नेपाल बैंक लिमिटेडले गैरआवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधाहरुसहितका एनआरएन निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ।

विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दति खाता खोल्न सक्नेछन्। अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दति खाता खोल्दा उच्चतम ब्याज दिने बैंकले जनाएको छ। 

अमेरिकी डलरमा बचत तथा मुद्दति खाता खोल्दा वार्षिक व्याजदर क्रमशः ४.५ प्रतिशत र ५ प्रतिशत दिने बैंकले जनाएको छ भने अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने बैंकले जनाएको छ। 

बचत तथा मुद्दति खाता दुवैमा न्यूनतम मौज्दात अमेरिक डलर ५ हजार वा सोबराबरको अन्य विदेश मुद्रा हुनुपर्ने छ। एनआरएन खाता गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीबाट प्रवर्द्धित विदेशस्थित संस्थाको नाममा र गैरआवासीय नेपालीको नाममा संयुक्त रुपमा पनि खाता खोल्न सकिने बैंकले जनाएको छ। यो खाता खोल्नका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ। यसका साथै बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिनेसमेत बंैकले जनाएको छ भने मुद्दति खाता कम्तीमा १ वर्ष वा सोभन्दा बढी अवधिका लागि खोल्न सकिनेछ।

नेपाल अधिराज्यभर २१३ शाखा, १४७ एटीएम मेसिनका साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको छ।