काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १८.४९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

दोस्रो त्रैमाससम्म कम्पनीको कुल आय पनि ६.८७ प्रतिशतले वृद्धि भएर २१ अर्ब ९८ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म कुल आय २० करोड ५७ लाख रुपैयाँ रहेको थियो।

गत वर्ष यही अवधिसम्म कम्पनीको कुल सञ्चालन आय रु. १७ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म ८.३६ प्रतिशतले बढेर १९ अर्ब २० करोड रुपैयाँ भएको छ। 

गत वर्ष दोस्रो त्रैमासमा EBITDA ८ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ९.०१ प्रतिशतले बढेर ९ अर्ब ३८ करोड रुपैयाँ भएको छ। 

समीक्षा अवधिमा कम्पनीको आर्थिक स्वास्थ्य सकारात्मक हुनुका प्रमुख कारणहरु यस्ता छन्–
  • फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको। यसैगरी टुजी र थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत टुजी, थ्रीजी र फोरजी सेवाको पहुँच विस्तार गरिएका कारणले ग्राहक आधार वृद्धि हुन गएको। कम्पनीको एफटीटीएच सेवाप्रति ग्राहकको आकर्षणमा वृद्धि भई एफटीटीएचमार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटीभी सेवाका ग्राहकहरु वृद्धि हुन गई फिक्स्ड नेटवर्थबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेका।
  • मुलुक तथा विश्वव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पश्चात कोभिड–१९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आवको सुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको।
  • कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहे पनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मतसम्भारमा सुधारजस्ता क्रियाकलापबाट कम्पनीका सेवाहरुप्रति ग्राहक आकर्षित हुन सकेको तथा सोही कारणले गर्दा सेवाको उपयोगमा वृद्धि भएको।
  • कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभइसकेको वास्तविकता तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहे पनि अनलाइन व्यवसाय, अनलाइन क्लासेज, सोसल नेटवर्किङ, इन्टरनेट बेस्ड इन्टरटेन्टमेन्ट आदिमा भएको वृद्धिका कारणले कम्पनीको भ्वाइस सेवा, डाटा सेवा, एसएमएस सेवा र भीएएस सेवामा गत आवको द्वितीय त्रैमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा सुधार आएको।